दोधारा । धनगढीमा जलवायु तथा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र युनिसेफ नेपालको साझेदारीमा सञ्चालित ‘सामुदायिक संलग्नता र सामाजिक परिचालन मार्फत् सामाजिक तथा व्यवहार परिवर्तन र जलवायु कार्यक्रमको नमुना निर्माण’ परियोजनाको आयोजना तथा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ सँगको समन्वयमा ‘जलवायु तथा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी वडा स्तरीय विपद् व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको हो।

वडा स्तरीय विपद् व्यवस्थापन समिति, बाल क्लब र युवा क्लबलगायतका प्रतिनिधिहरू गरी २१ जनाको सहभागिता रहेको यस कार्यक्रममा सहभागीहरूलाई एनएनएसडब्ल्यूए र युनिसेफ नेपालको संक्षिप्त परिचय दिइनुका साथै, जलवायु परिवर्तन र सामाजिक व्यवहार परिवर्तनबारे जानकारी गराईएको थियो। छलफलका क्रममा जलवायु परिवर्तनले बालबालिकाको अधिकार, स्वास्थ्य, शिक्षा तथा दैनिक जीवनमा परेको प्रभावका साथै यसको समाधानका लागि आवश्यक बालमैत्री तथा युवा–मैत्री नीति र कार्यक्रमबारे पनि परामर्श आदान–प्रदान गरिएको थियो।

कार्यक्रममा एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संस्थाको संक्षिप्त परिचय दिँदै, जलवायु परिवर्तन तथा सामाजिक व्यवहार परिवर्तनका क्षेत्रमा संस्थाले गरिरहेको पहल र समुदायमा देखिएको प्रभावका विषयमा प्रकाश पार्नुभयो। उहाँले बालमैत्री र युवा–मैत्री नीति तथा कार्यक्रममार्फत दीर्घकालीन समाधानतर्फ लाग्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभयो।

युनिसेफ नेपालका सामाजिक व्यवहार परिवर्तन कन्सल्टेन्ट अशोक कुमार जोशीले कार्यक्रमको सहजीकरण गर्दै, सहभागीहरूलाई जलवायु परिवर्तन र सामाजिक व्यवहार परिवर्तनसम्बन्धी जानकारी तथा छलफलमा सक्रिय रूपमा संलग्न हुन प्रेरित गर्नुभयो। उहाँले विषयगत सन्देशहरूलाई सरल र प्रभावकारी तरिकाले प्रस्तुत गर्न सहयोग गर्नुभएको थियो।
परियोजना संयोजक भरत बिकले जलवायु परिवर्तन र सामाजिक व्यवहार परिवर्तनका विषयमा यस्ता अन्तर्क्रिया कार्यक्रमले साँझा बुझाई र सहकार्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
परियोजना संयोजक भरत बिकले जलवायु परिवर्तन र सामाजिक व्यवहार परिवर्तनका विषयमा यस्ता अन्तर्क्रिया कार्यक्रमले साँझा बुझाई र सहकार्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्तै कार्यक्रम कैलाली जिल्लाका धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका र कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका सबै वडामा समेत सञ्चालन हुने जानकारी दिनुभयो।
अन्तर्क्रिया कार्यक्रममा परियोजना अन्तर्गत कैलारी गाउँपालिकाका लागि सामाजिक परिचालक रोशन चौधरी, धनगढीका सामाजिक परिचालक केशव पौडेल र दोधारा चाँदनीका सामाजिक परिचालक लक्ष्मी भट्टको समेत उपस्थिति रहेको थियो।
अन्तर्क्रियामा सहभागीहरूले यस्ता कार्यक्रमले जलवायु र सामाजिक व्यवहार परिवर्तनबारे साँझा बुझाई निर्माण गर्दै, बालमैत्री र युवा–मैत्री नीतिहरूको प्रवर्द्धनमा टेवा पुऱ्याउने विश्वास व्यक्त गरेका थिए।
