दोधारा । विपद् पूर्वतयारी तथा प्रारम्भिक चेतावनी प्रणालीलाई सुदृढ बनाउन वेदकोट नगरपालिकामा वर्षाको निगरानीका लागि नागरिक वैज्ञानिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, र इन्स्टिट्युट अफ हिमालयन रिक्स रिडक्सन (आईएचआरआर) को साँझेदारीमा सञ्चालित स्मार्ट परियोजनाको आयोजना तथा वेदकोट नगरपालिकाको समन्वयमा नागरिक वैज्ञानिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
परियोजनाअन्तर्गत वेदकोट नगरपालिकाका २३ जना नागरिक वैज्ञानिकलाई वर्षा गेजको प्रयोग, मापन प्रविधि, तथ्याङ्क संकलन र प्रतिवेदन प्रणालीबारे प्रशिक्षण प्रदान गरिएको छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले नागरिक वैज्ञानिकको भूमिकाको प्रशंसा गर्दै स्थानीय स्तरमा विपद्को सामना गर्न र त्यसको जोखिम कम गर्न नागरिक वैज्ञानिकहरूको योगदान अपरिहार्य रहेको बताउनुभयो। उहाँले नागरिक वैज्ञानिकले संकलन गरेको सही तथ्याङ्कले समयमै पूर्वतयारी गर्न र समुदायलाई सुरक्षित राख्न ठूलो मद्दत पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो।
वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले विपद् व्यवस्थापनमा नागरिक सहभागिताको महत्त्वमाथि प्रकाश पार्दै यो परियोजनाले नगरपालिकाको विपद् व्यवस्थापन क्षमतालाई थप मजबुत बनाएको बताउनुभयो। उहाँले नागरिक वैज्ञानिकहरूले संकलन गरेको तथ्याङ्कलाई योजना बनाउन र जनतालाई सुरक्षित राख्न प्रयोग गरिने उल्लेख गर्दै यसलाई समुदायको सुरक्षाका लागि एक महत्त्वपूर्ण कदम भएको तर्क गर्नुभयो।
एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले नागरिक वैज्ञानिकहरूलाई वर्षा मापन र तथ्याङ्क संकलनमा सक्षम बनाउन कार्यक्रम केन्द्रित रहेको बताउनुभयो। उहाँले स्थानीय तहमा विपद् पूर्वतयारी र जोखिम न्यूनिकरणलाई थप प्रभावकारी बनाउन यस अभिमुखीकरणले सहयोग गर्ने तर्क गर्नुभयो।
वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उप–प्रमुख तुलसी जोशी र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरू विशिष्ट अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।

त्यस्तै कार्यक्रममा डीसीएका म्यानेजर दिनेश गुरुङ र आईएचआरआरका कार्यकारी निर्देशक सुरज गौतम भर्चुअल माध्यमबाट जोडिनुभएको थियो।







