कञ्चनपुर : नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्र मन्त्री नारायणप्रकास(एनपी) साउदले दुई वर्ष भित्र अव्यवस्थीत बसोवासीको हात हातमा लालपूर्जा पुरयाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । शुक्लाफाँटा नगरपालिका २ रानीपुरमा आज आयोजित कार्यक्रममा मन्तव्य राख्नु हुदै उहाँले भूमि आयोगका कार्यलाई तिव्रता दिनका लागि जनशक्ति थपेर भएपनि कार्य अगाडी बढाउनु पर्ने बताउनु भयो । अव्यवस्थीत बसोवासीले तिर्नु पर्ने जग्गाको शुःल्क(राजश्व) ८० प्रतिशतबाट घटाएर २० प्रतिशत भन्दा कम गरिएको उहाँले बताउनु भयो । “प्रतिनिधि सभाका सदस्य समेत रहनु भएका साउदले सरकारले तोकेको शुःल्क जग्गा किने सरह भएको जनगुनासो आएपछि त्यसलाई घटाएका छौं” उहाँले भन्नुभयो, “चलनभोग गरेको जग्गाको स्वामित्व प्रदान गर्नका लागि आतुर छौं ।” स्थानिय बासिन्दाले ५० वर्ष अघि देखि चलनभोग गर्दै आएको जग्गाको स्वामित्व पाउन नसकेको उल्लेख गर्नु हुदै उहाँले अबको दुई वर्ष भित्रै त्यो सपना पुरा हुन लागेको बताउनु भयो ।

“अरुको मिसन ८४ चुनावका लागि होला” उहाँले भन्नुभयो, “हाम्रो मिसन भनेको जनताको हात हातमा लालपूर्जा पुरयाउने, विकास निर्माणका कार्यलाई अगाडी बढाउने रहेको छ, यस कार्यलाई अगाडी बढाउन सबैको सहकार्यको आवश्यकता छ ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर क्षेत्र हुदै मझगाउँ सम्मको पर्यटकीय मार्ग निर्माणका लागि कार्य अगाडी बढाईन लागेको उहाँले जानकारी दिनु भयो । “यस बारे सम्बन्धीत पक्ष संग घनिभूत रुपमा छलफल भैरहेको छ” उहाँले भन्नुभयो, मार्गको प्रवेश विन्दुमा पर्ने स्याली नदीमा पुलको आवश्यकता छ, त्यसका लागि पहल गरि रहेका छौं, निकुञ्ज प्रवेश मार्ग निर्माण भएमा यस क्षेत्रको विकासमा नयाँ आयाम थपिने छ ।” विकासका कार्यमा राजनीति गर्न नहुनेमा जोड दिनु हुदै उहाँले आरोप प्रत्यारोपको शिलशिलाको अन्त्य गर्नु पर्ने बताउनु भयो ।

“प्रतिपक्षले प्रतिवद्धता अनुरुप यो काम गर्न सक्नु भएन भन्न सक्नु पर्छ” उहाँले भन्नुभयो, “सत्ता पक्षियले यो कार्य यति कारण हुन सकेन भनेर तथ्य सहित भन्न सक्नु पर्छ,गरेका कार्यको फेरिहस्त पेश गर्न सक्नु पर्छ ।” कार्यक्रममा नेकपा(एमाले) बाट नेपाली काँग्रेसमा प्रवेश भएका १३ जनालाई पूर्व मन्त्री साउदले टिका लगाएर स्वागत गर्नु भएको थियो । पूर्व मन्त्री साउदले संघीय सरकार र नगरपालिकाको साझेदारीमा निर्माण भैरहेको नगर चक्रपथ सडक र सनवोरा नदीमा निर्माण हुने पुल स्थलको अबलोकन गर्नु भएको छ । स्थानिय बासिन्दाले जङगली जनावरको आतंक रोक्नका लागि मेसवायर जडान, सनवोरा र स्याली नदीमा तटबन्ध निर्माण, सनवोरा नदीमा पक्कि पुल निर्माणका लागि पहल गरिदिनका लागि आग्रह गर्नु भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका निर्वाचन क्षेत्र नं २ का सभापती लाल बहादुर सिंह, प्रदेश सभा निर्वाचन क्षेत्र क का सभापती करन सिंह ऐर, नगर उप प्रमुख कल्पना पन्त, द्रोपती राना, वडा अध्यक्ष र पार्टी कार्यकर्ताको बाक्लो उपस्थीति रहेको थियो ।

