मेनुका कार्की / कञ्चनपुर : महाकाली प्रदेशिक अस्पतालमा भुसिया कुकुर र घरपालुवा कुकुरले टोकेर एन्टिरेबिज खोपको लागि आउने विरामीको चाप बढ्दो छ । भीमदत्त नगरपालिका क्षेत्र वरपर मात्र आर्थिक वर्ष ०८१/०८२ मा पाँच हजार ४ सय ६२ जनालाई कुकुरले टोकोको छ । महाकाली प्रादेशीक अस्पतालको अभिलेख अनुसार अघिल्लो वर्षको श्रावण देखि असार सम्मको तथ्याङ्क हेर्दा कुकुरको टोकाईको अवस्था विकराल रहेको छ ।

कुकुर टोकाईको अवस्था विकराल रहे पनि भुसिया कुकुर भन्दा घर पालुवा कुकुरले बढी टोकेर विरामीहरु अस्पताल आउने गरेको महाकाली प्रादेशीक अस्पतालका मेडिकल रेकर्डर शान्त प्रसाद जोशीले बताए । उनले भने‘ अहिले धेरै जसोमा कुकुरले टोके पछि रेविज भ्याकिसन लगाउनु पर्छ भन्ने चेतना त जागेको छ, त्यसैले भ्याकिसन लगाउन प्रयाजसो सबै आउछन् तर भुसिया कुकुर भन्दा घर पालुवा कुकुरले बढी टोकेका व्यक्तिहरु आउने गरेको पाइएको छ ।’

’विगतको वर्षको तुलनामा पछिल्लो समय कुकुरले टोकेर उपचार गर्न आउनेको संख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा रेविजको भ्याक्सिन निःशुल्क उपलब्ध भए पनि उपचार गर्न आउनेको संख्या बढी हुँदा र भ्याक्सिनको नियमित आपूर्ति नहुँदा समय समयमा भ्याकिसनको अभाव हुने गरेको छ । हाल ३ महिना देखि करिब ६०/७० प्रतिशत जतिलाई मात्र खोप उपलब्ध गराउन सकिएकोले बिरामीलाई बाहिर मेडिकल बाट भ्याक्सिन खरिद गर्दा महङ्गो पर्न जान्छ त्यसैले गर्दा विरामी र घरपरिवारले मानसिक तनाव भोग्नु परेको’ जोशीले बताए । महाकाली प्रादेशिक अस्पतालमा भ्याक्सिनको आपूर्ति स्वास्थ्य सेवा विभागको इडीसीडीबाट धनगढी स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गर्ने गर्दछ । पछिल्लो समयमा शौखको लागि कुकुर पाल्नेको संख्या बढ्दै गएको छ तर व्यवस्थित तरिकाले नपाल्ने र सजगता नअपनाउने हुँदा यस्तो अवस्था आएको छ । (प्रशिक्षार्थी पत्रकार)

