कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर-१० नयाँगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयमा चार कोठे भवनको शिलान्यास गरिएको छ। शनिबार एक कार्यक्रमकाबीच वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले उक्त विद्यालय भवनको शिलान्यास गर्नुभएको हो।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले नगरपालिकाको प्रमुख प्राथमिकतामा शिक्षा क्षेत्रको विकास रहेको कुरामा विशेष जोड दिनुभयो। उहाँले शिक्षा नै समाज र राष्ट्रको सर्वाङ्गीण विकासको मूल आधार भएकोले यसमा लगानी गर्नु वर्तमानको आवश्यकता मात्र नभई भविष्यको लागि गरिने महत्वपूर्ण लगानी भएको बताउनुभयो। “हाम्रा बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउनु हाम्रो सामूहिक दायित्व हो,” नगर प्रमुख बोहराले भन्नुभयो, “र यो दायित्व पूरा गर्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नु अपरिहार्य छ।” साथै उहाँले गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षक, पाठ्यक्रम, शिक्षण विधि र सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा भौतिक पूर्वाधारको विकास लाई औंल्याउनुभयो।

नगर प्रमुखले नगरपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा अझ बढी लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरभित्रका अन्य विद्यालयहरूको भौतिक अवस्था सुधार गर्न, नयाँ भवनहरू निर्माण गर्न र आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन गर्न नगरपालिका सधैं तत्पर रहने जानकारी दिनुभयो। “हामी सबैको साझा लक्ष्य भनेको हाम्रा बालबालिकालाई उत्कृष्ट शिक्षा दिनु हो ताकि उनीहरूले भोलिको प्रतिस्पर्धात्मक विश्वमा सफल हुन सकून्,” नगर प्रमुख बोहराले भन्नुभयो।

त्यस्तै, वेदकोट-१० का वडा अध्यक्ष रतन सिंह बिष्टले नयाँ भवन निर्माणले यस क्षेत्रका बालबालिकाको शैक्षिक भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यस वडाका बालबालिकाहरूले राम्रो र सुरक्षित वातावरणमा पढ्न पाऊन् भन्ने हाम्रो उद्देश्य हो। यो भवन निर्माणले पठनपाठनमा सहजता ल्याउनेछ र विद्यार्थीहरूलाई विद्यालय आउन थप उत्प्रेरणा दिनेछ।” उहाँले वडाको समग्र विकासका लागि सबै सरोकारवालाहरूको निरन्तर सहयोगको अपेक्षा समेत गर्नुभयो। विद्यालयका प्रधानाध्यापक महेश्वर भट्टका अनुसार यो भवन ५० लाख ५५ हजार ६ सय ३३ रुपैयाँको लागतमा निर्माण गरिनेछ। शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, अभिभावक र स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।
