छाउगोठ हटाउने अभियानमा सक्रिय हुन् अनेम संघ कञ्चनपुरद्धारा अपील

महेन्द्रनगर : अखिल नेपाल महिला(अनेम) संघ जिल्ला कमिटी, कञ्चनपुरले छाउगोठ उन्मूलन अभियानमा सक्रिय हुन् संगठन आवद्ध नेता कार्यकर्तालाई आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गदैँ अनेम संघ कञ्चनपुरले जिल्लामा रहेका छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन अपील गरेको हो ।

शनिबार कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीका २८ वर्षीय कमला आउजी दमाइको छाउगोठमा सुतिरहेका बेला सर्पदंशबाट ज्यान गएको थियो । सोही घटना अमानवीय भएको भन्दैँ जिल्लामा छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन महिला दिदिबहिनीहरुलाई आग्रह गरेको छ ।

अनेम संघ कञ्चनपुरकी अध्यक्ष चिनि गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘छाउपडी प्रथा नारीलाई दोस्रो दर्जाको नागरिक बनाउने, उसको आत्मसम्मान कुण्ठित गर्ने र जीवन नै जोखिममा पर्ने कुप्रथा भएकाले महिलाको मौलिक अधिकार सुनिश्चत गर्न र समानतामूलक समाज निर्माण गर्न छाउगोठ जस्ता कुरीति अन्त्य गर्नु आवश्यक रहेको उल्लेख छ ।’

अखिल नेपाल महिला संघसँग आबद्ध रहनुभएका जिल्ला भरिका सबै महिला दिदिबहिनीहरुलाई आ–आफनो स्थानीय पालिका  छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन निर्देशन गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । साथै अनेम संघले कृष्णपुरको घटनाबाट सचेत हुँदै अब उप्रान्त यस्ता घटना नहुने गरि कामको थालनी गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सहित सरोकारवाला सबै निकायहरुको ध्यानाकर्षण गराएको छ ।

ताजा समाचार