रेडियण्ड मा.वि. मा गुरु पुजा तथा सम्मान कार्यक्रम सम्पन्न

कञ्चनपुर : गुरु पूर्णिमाको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गुरु पुजा तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्ना गुरुहरुलाई टिका र खादा लगाएर सम्मान गर्नुका साथै मिठाई, फलफुल लगायतका बिभिन्न उपहारहरु तथा मायाको चिनो प्रदान गरेका थिए । गुरु पूर्णिमाकै अवसरका विद्यार्थीहरुले नृत्य प्रदर्शन गर्नुका साथै शिक्षकहरुलाई बिभिन्न खेल समेत खेलाएका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले विद्यार्थीहरुको उज्वल भविष्य निर्माणमा गुरुहरुको महत्वपूर्ण भूमिका रहने र विद्यार्थीहरुको सफल जीवननै असली गुरु दक्षिणा हुने हुँदा गुरुहरुले दिएको शिक्षा तथा ज्ञानलाई सदैव आत्मसात गरी अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिनुभएको थियो ।  साथै उहाँले एक दिन मात्रै गुरुलाई सम्मान नगरी जीवनमा सत्मार्गको बाटो देखाउने सबै गुरुहरुलाई सम्मान गर्नुपर्ने समेत बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका भाईस प्रिन्सिपल उषा विष्टले गुरुहरु भनेको जीवन जिउन सिकाउने पथप्रदर्शक भएकोले सबैले गुरुको आज्ञापालन गर्नुपर्ने बताउनुभयो ।

विद्यालयका नेपाली शिक्षिका जगदेश्वरी पन्तले हिन्दु धर्ममा गुरुको स्थान सदैव अग्रस्थानमा रहेको बताउँदै गुरुहरुले अज्ञानको अध्याँरो बाटोबाट ज्ञानको उज्यालो बाटो तर्फ लैजाने भएकोले विद्यार्थीहरुको असल र सफल जीवन निर्माणका गुरुहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा स्मृति भट्टले गुरु पूर्णिमा सम्बन्धि कविता बाचन गर्नुका साथै गुरुहरुले ज्ञानज्ञुनका कुराहरु सिकाएर सही र उचित मार्ग दर्शन देखाउने काम गरेकोले सबै गुरुहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १० की छात्रा जानकी धामी र करुणा पालले संयुक्त रुपमा गरेका थिए ।

ताजा समाचार