कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा बुधबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो । विश्व भलिबल दिवसको अवसर पारेर भलिबल प्रशिक्षण केन्द्रमा समेत प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्मुख अतिथि नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरकसिह धामीले प्रतियोगिताले भलिबलका खेलाडीमा उत्साह थप्नेदेखिका नयाँ खेलाडी उत्पादन हुने बताए ।

भलिबल संघका बरिष्ठ उपाध्यक्ष धामीले भलिबल खेलकुद बृद्धि विकासका लागि सरकारी निकायबाट सहयोग अपरिहार्य रहेको बताए । राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम केन्द्र उपनिर्देशक समेत रहेका मुख्य भलिबल प्रशिक्षक जगदिश प्रशाद भट्टले गाँउ गाँउमा भलिबलका खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले जिल्लाभरी भलिबलमयी बनाउनका प्रतियोगिता सार्थक हुने बताए । अध्यक्ष मौनीले खेलाडीको हौसलादेखि गाँउ गाँउबाट भलिबलका खेलाडी उत्पादनदेखि खेलको बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

जिल्ला भलिबल संघ कञ्चनपुरका महासचिव उत्तम विष्टले प्रतियोगितामा विभागिय, आयोजक सहित १२टिमविच प्रतिस्पर्धा हुने बताए । महासचिव विष्टका अनुसार प्रथम पुरस्कार नगद १लाख १हजार १११, द्वितिय पुरस्कार ५१ हजार १सय ११, तृतिय पुरस्कार २१ हजार १सय ११ सहित उत्कृष्ट खेलाडीलाई नगद सहित मेडल, प्रमाण प्रदान गरिनेछ । उद्घाटनका दिन नेपाली सेना नम्बर २५बाहिनीको टिम र राम जानकी मन्दिर समिति तिलाचौरको टिमविच प्रतिस्पर्धा भएको थियो । १सेट मात्रै भएको प्रतियोगिता सो सेट सेनाले जितेको थियो ।

