राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्त बहादुर महरा काष्ठकलाको कार्यमा पोख्त छन । काष्ठकलाका सामग्री बनाउने कार्य उहाँले तालिम लिएर सिकेका भने होइनन् । मोवाईलमा युटयुवमा राखिएका भिडियो हेर्दै काष्ठकला सम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिकेका हुन । आठ कक्षामै पढदै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उहाँ संलग्न हुनु भयो । गाउँकै काठका फर्निचर बनाउने व्यक्ति संग मजदुरका काम थालेका उहाँले एक दुई वर्षमै हाउस डेकोरेसनको कार्य सिक्नु भयो ।

“हाउस डेकोरेसनको कार्यमा कहिले काम पाइन्थो, कहिले पाईदैनथ्यो उहाँले भन्नुभयो, “गतिलो कमाई नहुदा त्यो कार्य छाडने निधो गरे, मोवाईलमा काष्ठकला सम्बन्धीका यु टयुवमा भिडियोहरु हेर्ने र नयाँ कुरा सिक्ने उत्सुक्ता थियो, यु टयुव हेर्दै काष्ठकला सम्बन्धीका कार्य गर्न थाले ।” कमाई हुने हाउस डेकोरेसनको कार्य छाडेर मोवाईल हेरेर के पो गर्न थाल्यो भनेर घरकालेनै नाना थरी कुरा सुनाउन थाले । बुवालेनै बहुलाउन थालिस की क्या हो, वर्वाद हुने भयो भनेको कुरा उहाँ स्मरण गर्नु हुन्छ । आफन्तबाटै रकम सापटी लिएर काठ खरिद गरी काष्ठकलाका कार्यहरु उहाँ सिक्न थाल्नु भयो । यु टयुवमा काष्ठकालाका कार्य गरेर गतिलो आम्दानी भएको उहाँ सुन्नु र हेर्नु हुन्थ्यो, त्यही हेरेर उहाँले सामग्री निर्माण गर्न सिक्नु भएको थियो तर व्यवसायलाई अगाडी बढाउने आवश्यक पूजिँ भने उहाँ संग थिएन ।

आफन्त संग लिएको सापटी रकम विजयसालको काठ खरिद गर्नमै सिद्धिएको थियो । व्यवसायलाई अगाडी बढाउन मेसिन खरिद संगै आवश्यक औजार खरिद गर्ने पैशा थिएन । जहाँ इच्छा, त्यहाँ उपाय भने झै महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सम्पर्कमा पुग्नु भयो । महराले काष्ठकलाका सामग्री बनाउने सीप भएको तर पूजिँ नभएको कुरा सहकारीका पदाधिकारीलाई सुनाउनु भयो । “यु टयुव हेरेर बनाएका काठका सामग्रीहरु झोलामै बोकेको थिए” उहाँले भन्नुभयो, बनाएका सामग्री सहकारीका पदाधिकारीलाई देखाए सामग्री देखेर सहकारीका पदाधिकारी निकै प्रभावित भए ।” सुदूरपश्चिम प्रदेश स्वरोजगार कोषको रु दुई लाख ५० हजार पाँच प्रतिशत व्याज तिर्ने गरी कर्जा उहाँले प्राप्त गर्नु भयो । “प्राप्त कर्जाको रकमबाट काष्ठकलाका सामग्री बनाउनका लागि औजार(आवश्यक टुल) र मेसिनको आवश्यकता थियो, त्यो खरिद गरे बाँकी बचेको रकमबाट सामुदायिक वनबाट काठ खरिद गरे, त्यस पछि काष्ठकलाका सामग्री बनाउने र बेच्ने कार्यमा निरन्तर लाग्दै आए” उहाँले भन्नुभयो ।

महराले विशेष गरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्नु हुन्छ । खर्च कटाएर महिनमा उहाँले रु तीस हजार देखि रु ४५ हजारको हाराहारीमा आम्दानी गर्नु हुन्छ । काष्ठकालाकै कार्यबाट दुई जना दम्पती, दुई छोरा छोरी र आमा बुवा गरी छ जनाको परिवारको खर्च चल्दै आएको छ । कर्जा लिएको रकम मध्येको रु ६० हजा किस्ताको रकम उहाँले तिरि सक्नु भएको छ । प्रत्येक महिनाको किस्ता समयमै बुझाउने भएकाले सहकारीको उहाँ प्रति विश्वास रहेको छ । सहकारीमै महराले रु ३० हजार जतीको रकम बचत गर्नु भएको छ । उत्पादन गरिएका काष्ठ र बाँसका सामग्रीहरु कम्तीमा रु पाँच सय र बढीमा रु दुई हजार सम्ममा बिक्री हुने गरेका छन ।
पहिले उहाँले उत्पादीत सामग्री काठमाण्डौं, बुटवल, नेपालगञ्ज सम्म पुरयाएर बेच्ने गर्दथे । व्यापारीहरुले सामान लग्ने तर भुक्तानी समयै नदिने हुदा अहिले महेन्द्रनगर, धनगढी, झलारी लगायतका बजारमा उहाँले सामग्री पुरयाएर बेच्दै आउनु भएको छ । अर्डर अनुसार सामग्री बनाउने भएकाले अर्डर निकै बढी हुदा काम गर्न भ्याइन भ्याई भएको उहाँ सुनाउनु हुन्छ । एक सामग्री उत्पादन गर्दा ३० प्रतिशत लागत खर्च लाग्ने गरेको छ भने ७० प्रतिशत सम्म नाफा हुन्छ । कार्य सिक्दै गर्दा कुरा सुनाउने उहाँका घरकै सदस्य र आफन्त अहिले काम गरेको देखेर छक्क पर्ने गरेका छन । महराका श्रीमती स्थानिय नीजि विद्यालयमा शिक्षिकाका रुपमा कार्यरत रहनु भएको छ । विद्यालयको समय अघि र पछि उहाँले पनि काष्ठका सामग्रीमा रंग रोगन गर्ने, पोलिस गरी चम्काउने कार्यमा साथ दिनु हुन्छ ।
काष्ठकलाका कामलेनै समाजमा पहिचान बनाएकाले पहिलेको जस्तो उत्पादीत सामग्री खोज्दै हिडनु पर्ने अबस्था नरहेको उहाँ सुनाउनु हुन्छ । घरमै पुगेर व्यापारीहरुले सामग्रीको अर्डर गर्छन सोही अनुसार उहाँले सामान तयार गरी व्यापारी दिन्छ । व्यापारीले हातो हात रकम दिने भएकाले बेच्ने झन्झट छैन । भविष्यमा यसलाई ठुलो उद्योगका रुपमा विस्तार गर्ने उहाँको सोच छ । त्यसका लागि अहिले देखिनै रकम बचत गर्नथालेको उहाँ बताउनु हुन्छ । “संगैका साथीहरु युरोप र कोरिया तर्फ गए, स्वदेशमा बसेर गतिलो कमाईनै नहुने भएकाले जानका लागि निकै कर गरेका थिए” उहाँले भन्नुभयो, “स्वदेशमै कार्य गरी सफल हुने मन भित्र देखिकै इच्छा थियो, त्यसलाई पुरा गर्न लाागि परे, गतिलो कामाई छ,।
सबैले चिन्छन, समाजमा बेग्लै पहिचान बनेको छ, विदेशमा गएका साथीहरुले पनि अहिले व्यवसायले गति लिन थालेको देखेर साझेदाराका रुपमा राख्नका लागि कर गर्न थालेका छन ।” स्वदेशमै लगनशिल भएर कार्य गरे सफला प्राप्त हुने भएकाले युवाहरुलाई विदेशको मुख ताक्नु भन्दा स्वदेशमै सीप सिकेर व्यवसाय सञ्चालन गर्न उनी सुझाव दिन्छन । विद्यालय शिक्षामा व्यवसायीक हस्तकालाका सीपमा आधारित कार्यहरुलाई समावेश गरिनु पर्ने उहाँको भनाई रहेको छ । सहकारीका कार्यकारी प्रमुख गणेशदत्त भट्ट भक्त बहादुर पौरखी व्यवसायी भएकाले उहाँको कार्य प्रतिको लगाव देख्दा निकै प्रभावित भएको बताउनु हुन्छ ।
