कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले कञ्चनपुर स्थित महाकाली गाईडबण्ड र दोधाराचाँदनी सुक्का बन्दरगाह निर्माण स्थलको स्थलगत अनुगमन गरेका छन । आइतबार गृहमन्त्री लेखकले गत बर्ष महाकाली नदीको वाढीले भत्किएको गाईडबण्ड र दोधाराचाँदनी सुख्खा बन्दरगाहकोे स्थलगत निरीक्षण गरेका हुन । सरकारले भीमदत्त नगरपालिका ११, १२ र १३ वडालाई विपद संकट घोषणा गरेपछि गत जेठदेखि नेपाली सेनाले भत्किएको तटबन्ध र महाकाली नदी सिधा धारमा बगाउने काम गरिरहेको छ । स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले भत्किएको गाईडबण्डको काम सन्तोषजनक भईरहेको र समयमै गुणस्तरिय निर्माण काम सम्पन्न गर्न निर्देशन दिएका छन । गृहमन्त्री लेखकले बस्ती जोगाउनका लागि अहोरात्र खटिने सेनाका जवानलाई समेत धन्यवाद दिएका छन ।

गृहमन्त्री रमेश लेखकलाई सेनाका ईन्जिनियर एव कर्नेल निशान्त क्षेत्रीले तटबन्ध र नदीलाई जिरो प्वाईन्टबाट सिधा धारमा बगाउने काम भईरहेको बारे जानकारी गराएका थिए । गृहमन्त्री लेखकले भत्किएको गाईडबण्ड पुर्ननिर्माण भएसंगै तटिय क्षेत्रका जनता विपद मुक्त हुने विश्वास व्यक्त गरेका छन । स्थानीयले भुजेला खोला समेत महाकाली नदीमा सिधा धारमा बगाउनुपर्ने माग अघि सारेका छन । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास)ले भत्किएको तटबन्ध पुर्ननिर्माण, महाकाली नदीसंगै भुजेला खोला सिधा धारमा बगाउनुपर्ने बताए । गाईडबण्डको स्थलगत अनुगमनसंगै गृहमन्त्री लेखकले दोधाराचाँदनीको सुक्का बन्दरगाह स्थलको समेत अनुगमन गरेका छन । केही समय अघि सुक्का बन्दरगाह निर्माण स्थलमा रुख काटेर जमिन खाली गराईएको थियो । गृहमन्त्री लेखकलाई कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य एव उद्योगी तेज बहादुर चन्दले सुक्खा बन्दरगाहको कामकाज अघि बढाउन सरकारले तदारुकता देखाउनुपर्ने ध्यानाकर्षण गराएका छन ।

गृहमन्त्री लेखकले सुक्का बन्दरगाह निर्माणका लागि टेण्डर भईसकेको अब निरन्तर कामकाज अघि बढने विश्वास व्यक्त गरेका छन । गृहमन्त्री लेखकले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितका सुरक्षा प्रमुखसंग जिल्लाको शान्ति सुरक्षादेखि विपद् व्यवस्थापन तयारीका विषयमा समेत जानकारी लिएका थिए । गृहमन्त्री लेखकले शान्ति सुरक्षा, सुशासनदेखि विपद् व्यवस्थापनको पुर्व तयारीमा जुटन निर्देशन दिएका थिए । गृहनगर पुगेका गृहमन्त्री रमेश लेखकलाई नेता कार्यकर्ताहरुले जिल्लाको विकासदेखि विपद व्यवस्थापनका लागि आवश्यक माग अघि सारेका छन । नेपाली काँग्रेस कञ्चनपुरकी नेतृ मिना कुँवरले भेटघाटका क्रममा नेता कार्यकर्ताहरुले गृहमन्त्री लेखक समक्ष राखेका विषयमा सरकारी निकायबाट सम्बोधन गरिने विश्वास दिलाएको बताईन । अनुगमनमा सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधीको समेत सहभागिता रहेको छ ।

