सार्क एजुकेसन फाउन्डेसनले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई ल्यायो छात्रवृत्ति

कञ्चनपुर : कञ्चनपुरको एक निजी विद्यालयले विद्यार्थीहरूको लागि नवीन छात्रवृत्ति योजना ल्याएको छ । सार्क एजुकेसन फाउन्डेसनले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि तीनवटा पालिकामा रहेका वडाबाट आर्थिक रूपमा कमजोर, गरीब, जेहेन्ददार, दलित, एकल महिलाका छोराछोरी, आदिवासी, पिछडिएका वर्गका विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्ने भएको हो । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त विषयमा जानकारी गराइएको छ । आफ्नो स्थापनाकाल देखि नै समाजमा नवीन शिक्षाको वकालत गर्दै आइरहेको यस विद्यालयले समाजका हरेक वर्गका विद्यार्थीहरूको शिक्षामा पहुँच सुनिश्चित गर्न कक्षा ११ र १२ का लागि छात्रवृत्ति वितरण योजना अगाडि सारिएको छ ।

कञ्चनपुरका तिन नगरका वडा कार्यालयहरूमा ५ जना योग्य विद्यार्थीहरूलाई सिफारिस गरिदिन हुन भनेर विद्यालयले वडामा पत्राचार गरिसकेको सार्क एजुकेसन फाउण्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले जानकारी दिनु भयो । अहिले वेदकोट, भीमदत्त, र दोधारा चाँदनी नगरपालिकामा रहेका सबै वडाबाट ५ जना विद्यार्थीहरू मध्ये बाट १ जना विद्यार्थीलाई १००% छात्रवृत्ति भर्ना शुल्कमात्रै प्रदान गरिनेछ । २ जना विद्यार्थीलाई ५०% छात्रवृत्ति प्रदान गरिने, २ जना विद्यार्थीलाई ४०% छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रिन्सिपल सूर्य घिमिरे केसीले बताउनु भयो ।

सार्क एजुकेसनले उक्त छात्रवृत्तिका लागि दलित समुदायका विद्यार्थीहरू, एकल महिलाका सन्तानहरू, आदिवासी तथा जनजाति समुदायका विद्यार्थीहरू, पिछडिएका, गरीब तथा आर्थिक रूपमा अशक्त परिवारका विद्यार्थीहरू, जेहेन्ददार विद्यार्थीहरूलाई प्रदान गरिने उहाँले बताउनु भयो । साथै, विद्यार्थीहरूको छनोट गर्दा उनीहरूको शैक्षिक योग्यता, आर्थिक अवस्था, र अन्य सामाजिक तथा पारिवारिक अवस्थालाई आधार मानिने पनि जानकारी दिनु भयो । शैक्षिक क्षेत्रमा कुनै पनि विद्यार्थीले शिक्षा हासिल गर्नबाट बञ्चित नहुन र राम्रो गुणस्तरीय शिक्षामा सबैको सहज पहुच होस भन्ने हेतुले सबै वर्गका विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने गरी यो छात्रवृत्ति कार्यक्रम ल्याएको प्रिन्सिपल घिमिरेले बताउनु भयो ।

ताजा समाचार