बाख्रापालनका लागि साझेदारीमा व्यवस्थीत खोर निर्माण

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा बाख्रापालनका लागि साझेदारीमा सुरक्षित खोर निर्माण गरिएका छन । कनेक्ट परियोजना अन्र्तगत नगरपालिकाका छ वडाका २६ जना बाख्रापालक किसानका लागि साझेदारीमा खोर निर्माण गरिएको हो । सिमेन्टका पिल्लर, काठ, नट, बोल्ट, फलामका किला, जस्तापाता, तारजालीको प्रयोग गरी हिमालयन नेचर, नगरपालिका र किसानको संयुक्त साझेदारीमा सुरक्षित खोर निर्माण गरिएको छ । हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्र्तगत पर्ने सुनदेवी मध्यवर्ती समिति अन्र्तगत पर्ने नगरपालिकाका वडा नं १०, ६ र ७ मा गरी १३ वटा र त्रिशक्ति मध्यवर्ती समिति अन्र्तगत पर्ने नगरपालिकाका वडा नं १,२ र ५ मा गरी १३ वटा बाख्रापालनका लागि खोर निर्माण गरिएका छन ।

“मध्यवर्ती क्षेत्रका किसानलाई व्यवसायीक रुपमा बाख्रपालन तर्फ डोरयाउनका लागि साझेदारीमा खोर निर्माण गरेका छौं” उहाँले भन्नुभयो, “घरमै घाँस खेती गरी किसानले खोरमै सुरक्षित तरिकाले बाख्रपालनको कार्य गर्दै आएका छन ।” खोर निर्माणका लागि प्रति किसानलाई हिमालयन नेचरले रु २५ हजार, नगरपालिकाले रु १५ हजार, बाख्रापालक किसानले रु पाँच हजार नगद सहित खोर निर्माणका लागि काठको व्यवस्था मिलाएको उहाँले बताउनु भयो । काठ र अन्य सामग्री गरी प्रति खोर निर्माण गर्न रु दुई लाख बढीको खर्च आएको उहाँले उल्लेख गर्नु भयो । नगरपालिकाको वडा नं ७ का बाख्रपालक किसान रमेश दमाईले निकुञ्ज नजिकैको बस्ती भएकाले चितुवा लगायतका जनावरले गोठबाटै तानेर बाख्रा खाईदिने गरकोमा सुरक्षित र व्यवस्थीत तरिकाले खोर निर्माण गरिएपछि बाख्रालाई जोगाउन सकिएको बताउनु भयो ।

“खोरमा तारजालीको व्यवस्था गरिएको छ” उहाँले भन्नुभयो, “चितुवा लगायतका हिंसक जनावरले बाख्रलाई अब नोक्सान पुरयाउन सक्दैनन्, सहज रुपमा बाखा्रपालनको कार्य गर्न सकिने भएको छ ।” वडा नं १० का किसान विरु चुनाराले परम्परागत गोठमा बाख्रालाई बाध्ने कार्य गरिदा सरसफाई गर्न निकै समस्या हुने गरेको बताउनु भयो ।“बाह्य परजिविको त्यतिकै समस्या हुन्थ्यो” उहाँले भन्नुभयो, “अहिले अग्लो तारजाली सहितको व्यवस्थीत खोर निर्माण गरिएकाले बाख्राको मलमुत्र व्यवस्थापन गर्न सहज भएको छ, घाँस दानापानी खुवाउन सहज छ ।”शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव बहादुर बिष्टले किसानलाई अनुदानमा खोर निर्माण गरिएपछि निकुञ्ज तथा सामुदायिक वन माथिको निर्भरता कम हुने बताउनु भयो । खेतवारीमै किसानले घाँस उत्पादन गरी खोरमै बाख्रपालन गरी आम्दानी लिने भएकाले विगतको जस्तो वन क्षेत्रमा चराउनका लागि लैजानु नपर्ने उहाँको भनाई थियो ।

नगर प्रमुख रण बहादुर महराले व्यवस्थीत तरिकाले खोर निर्माण गरिएकाले खोर सफा, सुख्खा र हावा चल्ने भएकाले बाखा्रलाई रोग कम लाग्ने,परजीवीको संक्रमण कम हुने र चिसो/तापबाट बचाउन सहयोग पुरयाउने बताउनु भयो । “व्यवस्थित खोरले बाख्राको स्वास्थ्य सुदृढ हुन्छ” नगर उप प्रमुख कल्पना पन्तले भन्नुभयो, “आम्दानी बढने कार्य संगै थोरै लगानीमा धेरै फाइदा दिने राम्रो उपायका रुपमा व्यवस्थीत खोर रहेको छ ।” कनेक्टले सञ्चालन गरेका कार्यक्रमको अनुगमन कनेक्ट परियोजनाले शुक्लाफाँटा नगरपालिकामा सञ्चालन गरेका कार्यक्रमको अनुगमनको कार्य गरेको छ । व्यवस्थीत तरिकाले निर्माण गरिएका बाख्रा खोर, मानव जङगली जनावर द्वन्द कमगर्न जडान गरिएका सौर्य बत्ती, वन माथिको निर्भरता कम गर्नका लागि वितरण गरिएका विद्युतीय चुलो लगायतको अनुगमनको कार्य गरिएको छ ।

परियोजना अन्र्तगत हिमालयन नेचर, नगरपालिका र किसानको लागत साझेदारीमा सुनदेवी मध्यवर्ती समिति र त्रिशक्ति मध्यवर्ती समिति अन्र्तगतका बाख्रपालनमा लागेका किसानका लागि निर्माण गरिएका २६ वटा बाख्राका व्यवस्थीत खोर, दुवै समिति अन्र्तगत जडान गरिएका १० वटा सौर्यवतत्ती, दुई सय बढी विद्युतीय चुलो वितरण गरिएको छ । परियोजनाले गरेका कार्यको अनुगमन कार्यक्रममा नगर प्रमुख रण बहादुर महरा, उप प्रमुख कल्पना पन्त, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष लव बहादुर बिष्ट, वडा नं ५ का अध्यक्ष चक्र बहादुर खडका, वडा नं ६ का अध्यक्ष दान बहादुर ऐर, वडा नं २ का अध्यक्ष भोंदु चौधरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वि सेक्टरका प्रमुख राजेश लम्साल, सुनदेवी मध्यवर्ती समितिका अध्यक्ष भरत बहादुर बिष्ट, त्रिशक्ति मध्यवर्ती समितिका अध्यक्ष दमन बहादुर चन्द, हिमालयन नेचरका श्रीराम घिमिरे, कनेक्ट परियोनजाका मनोज ओझा लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार