महेन्द्रनगर : कञ्चनपुरमा २५ जना विपद् स्वयंसेवकहरुलाई तालिम प्रदान गरिएको छ । जिल्लाको लालझाडी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा आपतकालिन प्रतिकार्य सम्बन्धी ‘समुदाय विपद् स्वयंसेवक तालिम’ प्रदान गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण शैलेश्वरी कञ्चनपुरको आयोजना र लालझाडी गाउँपालिकाको समन्वयमा स्वयंसेवकहरुलाई २१ दिने तालिमको मंगलबार सम्पन्न गरिएको हो ।

समापन कार्यक्रममा बोल्नुहुँदै सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले प्राकृतिक तथा मानवीय विपद्का अवस्थाहरू बुझ्न, मूल्याङ्कन गर्न, तयारी गर्न तथा उद्धार र राहत कार्यमा व्यावहारिक सीप प्रदान गर्न स्वयंसेवकहरुलाई प्रशिक्षण गरिएको बताए । प्रशिक्षण अवधिभर सहभागीहरूलाई सशस्त्र प्रहरीका दक्ष प्रशिक्षकहरूले प्रारम्भिक प्राथमिक उपचार, आगलागी नियन्त्रण, खोज तथा उद्धार , सुरक्षित शिविर व्यवस्थापन, सरसफाइ, स्वच्छता तथा खानेपानीको व्यवस्थापन सम्बन्धी व्यावहारिक अभ्यास गराएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् व्यवस्थापनमा समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्नुपर्ने बताए । कार्यक्रमका सभापति लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले विपद् स्वयंसेवक तालिमले स्थानीय स्तरमा प्रतिकार्य क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

