प्रकास भट्ट /कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक विद्यालयले सामुहित रोपाई गरेको छ । वेदकोट नगरपालिका–६ सिसैयामा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयले राष्ट्रीय धान दिवसको अवसरमा सामुहिक रोपाई गरेको हो । १५ असार २२औँ राष्ट्रिय धान दिवसको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावकले सामुहिक रोपाई गरेका छन । विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रम अनुसार प्रयोगात्मक सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जनाएको छ । धान रोप्ने बेला विद्यालयका शिक्षिकाहरूले सुदूरपश्चिमको मौलिकता बोकेको फाग गीत गाएर वातावरणलाई थप रमाइलो बनाए। यो गतिविधिले विद्यार्थीहरूलाई स्थानीय संस्कृति र कृषि प्रथासँग जोड्ने अवसर प्रदान गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रबिन बोगटीले कार्यक्रमले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान प्रदान गर्न मद्दत गर्ने बताए। उनले विद्यालयको उद्देश्य विद्यार्थीहरूलाई आफ्नो संस्कृति र परम्परासँग जोड्दै कृषिको महत्व बुझाउनु रहेको बताए। त्यस्तै, विद्यालयका प्रधानाध्यापक रण बहादुर दौल्यालले विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइमार्फत जीवन उपयोगी सीप सिकाउने प्रयास गरेको बताए। साथै उनले यस्ता कार्यक्रमले उनीहरूको सर्वांगीण विकासमा सहयोग पुग्ने बताए। विगत केही वर्षयता शैक्षिक सुधार, प्रयोगात्मक शिक्षण र समुदायसँगको सहकार्यमा भुवनेश्वरी मावि सक्रिय रहँदै आएको छ।

वेदकोट नगरपालिकाभरि उत्कृष्ट स्थापित यो विद्यालयले एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। नगरकै पहिलो ए प्लस ल्याउने विद्यालयको रूपमा भुवनेश्वरी माविले आफ्नो पहिचान बनाएको छ। भुवनेश्वरी मावि शैक्षिक सुधार, प्रयोगात्मक शिक्षण र समुदायसँगको सहकार्यमा सक्रिय रहँदै आएको छ। यस्ता गतिविधिहरूले विद्यार्थीमा श्रमप्रति सम्मान र जीवनोपयोगी सीपको विकासमा मद्दत पु¥याउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। प्रदेश सरकारको नमुना विद्यालयमा छनौटमा परेको उक्त विद्यालयले पढाईका अतिरिक्त थप शैक्षिक कृयाकलाप गर्दै आएको छ ।

