राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नाराका साथ महाकाली आयुर्वेद औषधालयले शुक्लाफाँटा नगरपालिका ६ कसरौलका जेष्ठनागरिकको स्वास्थ्य परिक्षण संगै रसायन (आयुर्वेदिक) औषधी वितरण गरेको छ । महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरले आयोजना गरेको कार्यक्रममा ६४ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, तनावमुक्त जीविनपद्धतीका लागि परामर्श प्रदान संगै निःशुल्क रुपमा औषधी वितरणको कार्य गरिएको हो ।औषधालयका बैद्य निरीक्षक दिर्धबहादुर रावलका अनुसार ज्येष्ठ नागरिकहरूलाई च्यवनप्रास, शिलाजित क्याप्सुल, अश्वगन्धा चुर्ण, योगराज गुगुल, अभिपत्तिकरण चूर्ण, अज्मारीन चक्की वितरण गरिएको छ ।

जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँचको कार्य गर्नुका साथै समग्र स्वास्थ्य सुधारमा टेवा पुग्ने परामर्श प्रदान गरिएको उहाँले बताउनु भयो । “स्वस्थ खानपान, नियमित व्यायाम, सन्तुलित जीवनशैली र मानसिक शान्ति कायम राख्नका लागि जेष्ठनागरिकहरुलाई परामर्श प्रदान गरेका छौं” बैद्य निरीक्षक रावलले भन्नुभयो, “ज्येष्ठ नागरिकको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन रसायन औषधि अत्यन्त प्रभावकारी हुने कुराको जानकारी संगै जीवनशैली सुधार नगरी स्वास्थ्य लाभ लिन सकिने कुराको जानकारी दिएका छौं ।” वडा नं ६ का अध्यक्ष दान बहादुर ऐरले स्थानीय तहसँगको समन्वयमा सञ्चालित यस प्रकारका निःशुल्क स्वास्थ्य कार्यक्रमहरूबाट वृद्धवृद्धाहरूले राहतको अनुभूति गरेको बताउनु भयो ।

उहाँका अनुसार निःशुल्क बलदायी आयुर्वेदीक औषधी वितरण कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्यमा सुधार हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने,उमेरसँगै देखिने कमजोरी, थकान, स्मरण शक्तिको कमजोरी, जोर्नी दुखाइ जस्ता समस्या घटाउँन मद्दत पुरयाउ छ । झलारी आयुर्वेद औषधालयका बैद्य कालु सिंह बिष्टले रसायनयुक्त औषधीले शरीरको शक्ति, ओज, बल, स्मरण शक्ति बढाउने कार्य संगै दीर्घायु बताउने बताउनु भयो ।

“खानपान, व्यायाम, ध्यान–योग आदि जीवनशैलीमा सुधार ल्याउदा दीर्धकालीन स्वास्थ्य सुधारमा योगदान पुरयाउने कुरा जेष्ठनागरिकलाई परामर्शका रुपमा बुझाएका छौं” उहाँले भन्नुभयो, “सन्तुलित र पोषिलो आहार अन्र्तगत पचाउन सजिलो हुने खान जस्तै गेडागुडी, सूप, दलिया ताजा फलफुल सागसब्जी सेवन गर्ने सल्ला दिएका छौं ।”यस संगै दही, दूध, बदाम जस्ता खानेकुराको प्रयोगलाई बढाउनु पर्ने संगै विहान वा बेलुका ३० मिनेटसम्म हिडडुल गर्ने, योग प्रणायाम गर्नु पर्ने, मानसिक शान्तिका लागि सकारात्मक सोच र आत्मसन्तुष्टि कायम गरिनु पर्ने कुरा सम्झाएको उहाँले उल्लेख गर्नु भयो । घरदैलोमै निःशुल्क बलवद्र्धक औषधी निःशुल्क रुपमा पाउदा जेष्ठनागरिकहरुले सन्तुष्टि व्यक्त गरेका थिए ।
