एडिविको ऋण सहयोगमा शुक्लाफाँटाका चार सडक आधुनिक तरिकाले कालोपत्रे हुने

कञ्चनपुर : एशियाली विकास बैंक(एडिवी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजा(आरयुडीपी)को दोश्रो चरण अन्र्तगत शुक्लाफाँटा नगरपालिकामा आधुनिक तरिकाले सडक कालोपत्रेको कार्य अगाडी बढने भएको छ । आयोजना अन्र्तगत ढल, फुटपाथ, डवल लेन सहितका चार वटा सडक कालोपत्रेको कार्य हुने भएको हो । सडक कालोपत्रेको कार्य अगाडी बढाउनका लागि आयोजनाको कार्यालयले बोलपत्र आब्हान गरेको छ । बोलपत्र अनुसार छ दशमलव ८५५ किलोमिटरको सडक कालोपत्रे लगायतको कार्य हुने भएको छ ।

नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार झलारी–पिपलाडी (एक दशमलव ७८ किलोमिटर) झलारी–फुलेली(तीन दशमलव ११ किलोमिटर), नगरपालिका–कालापानी(एक दशमलव ९० किलोमिटर) र कालिका विद्यालय दक्षिण( शून्य दशमलव ८७ किलोमिटर) सडक कालोपत्रे लगायतको कार्य हुने छ । उहाँका अनुसार सडक कालोपत्रे लगायतका संरचना निर्माणको कार्यका लागि सञ्चालन हुने परियोजनाको अबधि २० महिनाको हुने छ ।
परियोजनाको पहिलो चरण अन्र्तगत शुक्लाफाँटा

नगरपालिकामा फुटपाथ, ढल सहित डवल लेनका तीन वटा सडक कालोपत्रेको कार्य गरिएको थियो । तीन वटै सडकको लम्बाई सात किलोमिटर रहेको छ । सडकको शहरी क्षेत्रमा परियोजना अन्र्तगत सडक बत्ति जडानको कार्य गरिएको थियो । पहिलो चरणमै परियोजनाले नगरपालिकाको मुख्य प्रशासकिय भवन निर्माणको कार्य पुरा गरेको थियो भने एकिकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अन्तिम चरणमा रहेको छ ।

परियोजनाले दोश्रोचरण अन्र्तगत सडक कालोपत्रेको कार्य अगाडी बढाउने भएपछि नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेश बहादुर ऐरले नगरपालिकामा विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नु भयो ।
“शहरी र ग्रामीण क्षेत्रलाई जोडका लागि परियोजनाले आधुनिक तरिकाले सडक कालापेत्रको कार्य गर्ने भएको छ” उहाँले भन्नुभयो, “यस कार्यले नगरको विकासमा टेवा पुरयाउ छ ।”

ताजा समाचार