राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक घोडा–खच्चरमा लाग्ने ‘ग्ल्यान्डर्स’ रोग देखा परेको छ । कैलाली र कञ्चनपुरका इट्टा भट्टामा पालिएका घोडा र खच्चरमा यो रोग देखा परेको हो । इट्टा भट्टामा घोडा र खच्चर मर्न थालेपछि चेकजाँचका लागि पुगेको पशुपन्छिरोग अन्बेषण प्रयोगशाला धनगढीको पशु चिकित्सक सहितको टोलीले ‘ग्ल्यान्डर्स’ रोग पत्ता लगाएको छ ।

“गत महिना कैलालीको जानकी गाउँपालिका ३ स्थीत सञ्चालित इट्टा भट्टामा पालिएका घोडामा रोग देखियो” प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले भन्नुभयो, “त्यस पछि बेदकोट नगरपालिका ६ स्थीत इट्टा भट्टामा पालिएका खच्चरमा त्यो रोग देखा परेको छ ।” घोडाको रगतको नमूनाको पिसिआर परिक्षणका लागि काठमाण्डौं स्थीत प्रयोगशालामा पठायौ, त्यसबाट जिवाणुबाट सर्ने ‘ग्ल्यान्डर्स’रोग भएको भएको पुष्टि भयो” उहाँले भन्नुभयो । उहाँका अनुसार इट्टा भट्टा सञ्चालकहरुले भारतबाट इट्टा बोक्ने कार्यका लागि घोडा –खच्चर भारतबाट ठेक्कामा ल्याउने गरेका छन । भारतबाटै घोडा, खच्चर ‘ग्ल्यान्डर्स’ रोगको संक्रमण भएर आएको हुन सक्ने उहाँले बताउनु भयो ।

स्वासप्रश्वास सम्बन्धी संक्रामक प्राणघातकका रुपमा रहेको यो रोग ‘बुर्खोल्डेरिया म्यालाइ’ नामक जिवाणुबाट सर्ने गर्दछ । यस रोगको जिवाणु घामको प्रत्यक्ष किरण वा निसंक्रमणका सामान्य औषधीबाट नष्ट हुन्छ । तर यो जिवाणु संक्रमित पशुमा छ हप्ता सम्म र सफा पानिमा २० दिन सम्म जिवित रहन सक्छ । ‘ग्ल्यान्डर्स’ रोग देखापरेका जनावरमा उच्च ज्वरो आउनका साथै नाक र आँखाबाट तरल पदार्थ बग्ने, फोक्सो लगायत श्वास प्रस्वास प्रणालीमा असर पर्ने गर्दछ । यसैगरी, छालामा गिर्खाहरु देखिने र क्रमशः निको हुँदै तारा आकारको डामहरु रहने र समयमा उपचार नपाएमा घोडा खच्चर लगायतको मृत्यु हुने गर्दछ । यो मानिसमा पनि सर्ने र समयमा उपचार नभएमा मानिसको मृत्यु सम्म हुन सक्ने जुनोटिक रोग भएकाले सबैले यसबारे सेचत रहनु पर्ने बरिष्ठ पशु चिकित्कसक जोशी बताउनु हुन्छ ।

यस रोगका लागि खोप नभएको र उपचार पनि त्यति प्रभावकारी नहुदा रोगको संक्रमणमा परेका जनावरको मृत्यु दर ९५ प्रतिशत सम्म हुने एक अध्ययनले देखाएको छ । नेपालमा यो विसं २०७८ सालमा पहिलो पटक देखा परेको थियो ।
भारतमा यो रोग भेटिएकाले सीमावर्ती कैलाली कञ्चनपुर क्षेत्र रोगको उच्च जोखिममा रहेको छ । नेपाल सरकारले घोडा खच्चड आयतमा स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेपनि खुला सीमानाको फाईदा उठाउदै इट्टा भट्टाहरुमा अबैध रुपमा घोडा खच्चर कामका लागि ल्याउने र काम सकिए पछि पुनः भारत तर्फ लैजाने गरिन्छ । घोडा खच्चर रोगबाट संक्रमित भएपछि वन क्षेत्रमा लगेर छाडने कार्य हुदै आएकाले यसले जुनोटिक रोगको जोखिम बढाएको छ ।
