कञ्चनपुरमा एक हजार ६० जनामा सिकलसेल एनिमिया पोजेटिभ

महेन्द्रनगर : कञ्चनपुरमा सिकलसेल ऐनिमिया रोग परीक्षणका लागी आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा एक हजार ६० जनामा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लाका पाँच पालिकामा गरेको परीक्षणका क्रममा १ हजार ६० जनामा संक्रमण पुष्टि भएको हो । जस मध्ये ३७ जना सिकलसेल एनिमियाका रोगी रहेका छन् भने अन्य बाहकका रूपमा रहेको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया सम्पर्क व्यक्ती सिद्धराज भट्टले जानकारी दिए । जिल्लामा चालु आर्थिक वर्षमा थारु समुदायका व्यक्तिहरूमा सिकलसेल ऐनिमियाको परीक्षणमा १० हजार ८९६ जनाको रगत जाँच गरिएको थियो ।

स्वास्थ्य शिविर मार्फत गरिएको परीक्षणका क्रममा १ हजार ६० जनामा संक्रमण पुष्टि भएको थियो । थप जाँचका लागी उनीहरूको नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा जिल्लामा ३७ जना सिकलसेल ऐनिमियाका बिरामी रहेका छन् भने हाल सम्म ७ सय ७ जना बाहक छन् । यदि बाहक महिला र बाहक पुरुषको बिचमा विवाह भएमा उनीहरूबाट जन्मने सन्तानमा समेत उक्त रोग देखा पर्ने चिकित्सकहरू बताउँछन् । यस बाट बच्न बाहक महिला र पुरुषले विवाह नगर्नु नै उचित हुने चिकित्सकहरूले सुझाव दिएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र बेलडाँडी गाउँपालिकामा गरिएको सिकलसेल ऐनिमिया रोग परीक्षणका लागी रक्त परीक्षण कार्यक्रममा उक्त संख्यामा हाल सम्म ३७ जना रोगी फेला पर्नुभएको छ भने बेलडाँडीमा गरिएको परिक्षको अन्तिम नतिजा आउन भने बाँकी नै रहेको सिकलसेल ऐनिमिया सम्पर्क व्यक्ति भट्टले बताए ।

शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर २,४,९,१० र १२ मा १ हजार ७९७ जनामा गरिएको परीक्षणका क्रममा एक सय ३७ जना बाहक र ३ महिला २ पुरुष गरी ५ जना बिरामी फेला पर्नुभएको छ । यस्तै, बेदकोट नगरपालिकाको वडा नम्बर २,३,५,७ र १० मा १ हजार ६६४ जनामा गरिएको रक्त परीक्षणका क्रममा ९१ जना बाहक र ६ महिला एक पुरुष गरी सात जना रोगी फेला पर्नुभएको छ । भीमदत्त नगरपालिकाको वडा नम्बर २, १४ र १९ मा ८ यस ६६ जनामा गरिएको सिकलसेल ऐनिमिया जाँचका क्रममा ९५ जना बाहक र ३ महिला १ पुरुष गरी चार जना रोगी फेला पर्नुभएको छ । यस्तै, पुर्नवास नगरपालिकाको वडा नम्बर १,५ र ११ मा ९ सय ७६ जनामा गरिएको परीक्षणका क्रममा ९० जना बाहक र एक महिला ३ पुरुष गरी चार जना रोगी फेला पर्नुभएको छ ।

कृष्णपुर नगरपालिकामा ३ हजार ५५३ जनामा गरिएको जाँचका क्रममा २ सय ९४ जना बाहक र १२ महिला ५ पुरुष गरी १७ जना रोगी फेला पर्नुभएको छ । यस्तै, बेलडाँडी गाउँपालिकाको पाँच वटै वडाका २ हजार ४०२ जनामा गरिएको परीक्षणका क्रममा १४१ महिला र ८८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । थप परीक्षणका लागी उनिहरुको रगतको नमुना प्रदेश जनस्वास्थ्य कार्यालयमा पठाइएको स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिए । सिकलसेल ऐनिमियाको उपचार र औषधि सेती प्रादेशिक अस्पतालमा निःशुल्क रूपमा उपलब्ध हुँदै आएको छ । बिरामीहरूले नियमित रूपमा यसको औषधि सेवन गर्न स्वास्थ्य कार्यालय कञ्चनपुरले आग्रह गरेको छ ।

ताजा समाचार