केशव भट्टराई /कञ्चनपुर : भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नम्बर १ ले लेफ्टिनेन्ट सन्तोष तामाङलाई भव्य स्वागत सहित सम्मान गरेको छ । विसं २०७० सालमा भारतीय गोर्खा सेनामा सैन्य पदमा भर्ना भई हाल आन्तरिक प्रतिस्पर्धा मार्फत अधिकृत तहको ल्याप्टिनेन्ट पदमा नाम निकाली पास आउट भएर घर फर्किएका पुनर्वास २ अरनीको बस्तीका सन्तोष तामाङलाई भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नं १ ले भव्य स्वागत सँगै सम्मान गरेको छ ।

भारतीय भूतपूर्व सैनिक सङ्घ कञ्चनपुर क्षेत्र नम्बर १ का अध्यक्ष (रिटायर्ड सुवेदार मेजर) मान बहादुर तामाङले भारतीय गोर्खा सेनामा यस क्षेत्रकै पहिलो सैन्य अधिकृत लेफ्टिनेन्ट पदमा नाम निकालेको भन्दै सन्तोष तामाङको प्रशंसा गर्नुभयो।
आजसम्म जति पनि यस क्षेत्रबाट भारतीय गोर्खा सेनामा भर्ना भएका छन्। उनीहरु कोही पनि लेफ्टिनेन्ट पदमा नपुगेको बताउँदै सन्तोषले तालिम सम्पन्न गरी घरपरिवार भेट गर्न आउँदा ससम्मान स्वागत गरेको उहाँले बताउनुभयो । सन्तोष यस क्षेत्रको इतिहास बनेको बताउँदै उहाँको सम्मानका लागि यस क्षेत्रका सम्पूर्ण भारतीय भूतपूर्व सैनिकहरू सहभागी भएको उहाँले बताउनुभयो ।

विक्रम सम्वत् २०४८ सालमा बुवा थार्केप तामाङ र आमा प्रेममाया तामाङको कान्छो सन्तानका रुपमा जन्मिएका (५ सन्तान मध्ये) सन्तोष विक्रम सम्वत २०७० सालमा भारतीय गोर्खा सेनामा सैन्य पदमा भर्ना भएका थिए। सानैदेखि पढाइमा अब्बल र केही न केही गर्नुपर्छ भन्ने सोच भएको सन्तोषले कडा मेहनत गर्दै लेफ्टिनेन्ट पदमा नाम निकाल्न सफल भएको बताउनुभयो । नाम निकाले तालिम सम्पन्न भएर घर परिवारमा भेटघाटका लागि आउँदा भारतीय भूतपूर्व सैनिक सङ्घले गरेको यो सम्मानले आफूलाई निकै खुसी मिलेको उहाँले बताउनुभयो । मेहनत गर्न छाड्नु हुँदैन पक्कै पनि सफल भइन्छ भन्दै उहाँले आम युवाहरुलाई भारतीय गोर्खा सेनामा भर्ती हुन आग्रह समेत गर्नुभयो।

सन्तोषको प्रारम्भिक शिक्षा पुनर्वास दुई मोती बस्तीमा रहेको एजी इङ्ग्लिस हाइ स्कुल बाट सुरु भएको थियो। सन्तोषको अहिले बुबाआमा, श्रीमती र एक छोरा-छोरी छन्। भारतीय भूतपूर्व सैनिक संघले डोकेबजारदेखि नै सम्मान सहित र्याली गर्दै गाउँ परिक्रमा गरेर घर पुर्याएको थियो । सो कार्यक्रममा भारतीय भूतपूर्व सैनिक संघका पदाधिकारी, स्थानीय विजय गालील चर्चका बरिष्ठ पाष्टर राज कुमार तामाङ्ग, युवा समूह, सन्तोषका आफन्त लगायतले स-सम्मान स्वागत गरेका थिए ।
