‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ कार्यशाला सम्पन्न : मनसुन पूर्व तयारीमा जोड

दोधारा । यस वर्षको मनसुन अवधिमा हुन सक्ने प्राकृतिक प्रकोपबाट धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुरमा दुई दिने ‘प्रभावमा आधारित पूर्वानुमान’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ् । कार्यशालामा कञ्चनपुरका वेदकोट, भीमदत्त, दोधारा चाँदनी र डडेलधुराको परशुराम नगरपालिकालाई लक्षित गरी आयोजना गरिएको थियो, जसले मनसुन पूर्वतयारीमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ् । कार्यशालामा मनसुनको समयमा बाढी, पहिरो र अन्य विपद्का घटनाहरुले पुर्‍याउन सक्ने क्षतिलाई कम गर्नका लागि प्रभावमा आधारित पूर्वानुमान प्रणालीको महत्वबारे विस्तृत छलफल गरिएको थियो । यस प्रणालीले मौसम सम्बन्धी जानकारीलाई सम्भावित प्रभाव संग जोडेर थप प्रभावकारी पूर्वसूचना प्रदान गर्न सहयोग गर्छ् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का उपसचिव वेदनिधी खनालले विपद्का घटना हुनु अघि के गर्ने, घटना भईसकेपछि क्षति न्यूनीकरणमा कसरी सहयोग पुग्ने र समुदायलाई विपद्को बेला सुरक्षित बनाउने कार्यमा कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यशालामा सम्बन्धित नगरपालिकाका जनप्रतिनिधीहरु, विपद् सम्पर्क व्यक्तिहरु, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधीहरु, तथा एनएनएसडब्लुए, डिसिए, आईएचआरआर र नक्सा प्राली.का प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले कार्यक्रमको प्राविधीक पक्षलाई सशक्त बनाउदै प्रभावमा आधारित मौसम पूर्वानुमानको महत्वबारे विस्तृत प्रस्तुती दिनुभएको थियो ।

साथै उहाँले मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने विभिन्न बुलेटिनहरु, पूर्वसूचना प्रणाली र तिनीहरुको उचित प्रयोगबाट कसरी मानवीय तथा भौतिक क्षतिलाई न्यून गर्न सकिन्छ भन्ने बारेमा सहभागीहरुलाई जानकारी गराउनुभयो । डीसीए नेपालका व्यवस्थापक दिनेश गुरुङ्गले विशेष गरी यस वर्ष जल तथा मौसम विज्ञान विभागले औसत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको अवस्थामा महाकाली नदी बेसिन क्षेत्रमा रहेका पालिकाहरु भीमदत्त, परशुराम र दोधारा चाँदनीका साथै चौधर नदी बेसिन रहेको वेदकोट नगरपालिकाको संयुक्त टोलीले पूर्वतयारीमा अझ बढी ध्यान दिनुपर्ने र विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनारले विपद् जोखिम न्यूनीकरणमा स्थानीय समुदायको सशक्तिकरण र क्षमता विकासको आवश्यकतामा जोड दिनुभयो । उहाँले समुदायको सक्रिय सहभागिताविना कुनै पनि विपद् व्यवस्थापन योजना सफल हुन नसक्ने बताउनुभयो । कार्यशालामा गत वर्ष सञ्चालित कार्यशालाले पारेको प्रभावबारे समीक्षा र छलफल समेत गरिएको छ् ।

यसले विगतका अनुभवबाट पाठ सिक्दै भविष्यका लागि थप प्रभावकारी योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ् । कार्यशालाले कञ्चनपुर र डडेलधुराका जोखिममा रहेका नगरपालिकाका लागि मनसुन पूर्वतयारीलाई अझ सशक्त बनाउने र सम्भावित विपद्बाट हुने क्षतिलाई कम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ् ।

ताजा समाचार