राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा सुभ कार्यहरुमा गाइने परम्परागत सगुना तथा फाग लगायतका लोकगीत लोप संघारमा पुगेका छन । एक पुस्ताबाट अर्को पुस्तामा मौखिक रुपमा पुस्तान्तररण हुदै आएका मौलिक लोकगीत विधाका सगुना फाग हराउदै जान थालेका हुन । विशेष प्रकारको लयमा विवाह, ब्रतबन्ध, न्वारन र धार्मिक समारोहमा सगुना तथा फाग गाउने चलन सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा रहेको छ । युवा पुस्ताहरुले सिक्न लोकलाज मान्ने कारण र बुढापाकाहरु(महिलाहरु)ले सिकाउने प्रयत्न नगर्दा यस्ता मौलितकता बोकेका गीतहरु ओझेलमा पर्न थालेका छन ।

महिलाहरुको अगुवाईमा मांगलिक कार्यहरुमा गाइने गीहरुले धार्मिक, सांस्कृतिक, सामाजिक र नैतिक भावहरु बोकेको हुन्छ । सुदूरको सगुना गीतको संग्रहकर्ता लेखिका कलसा महरा सगुना फाग शुभ कार्यहरूमा गाइने भएकाले, यसले आशिष, मंगलकामना र सौभाग्यको संकेत दिने गरेको बताउनु हुन्छ । “डोटेली भाषामा गाइने यी गीतहरूले स्थानीय संस्कृति, भाषा र परम्परालाई जगेर्ना गर्न ठूलो भूमिका खेल्दछ” उहाँले भन्नुभयो, “नारी सशक्तिकरणको सांगीतिक स्वरुपका रुपमा सगुना फाग विधालाई लिन सकिन्छ । उहाँका अनुसार सगुना गीतको सुरुवात गर्दा ‘सगुना बोल सरसती लगुनु बोल बिरस्पती । बोल मया भला सगुन बोल कसुघर सरसती कसु घर बिरस्पती । बोल माया भला सगुन बोल सिता घर राम घर बिरस्पती ।’ भनेर गायन गरिन्छ । त्यस पछि मांगलीक कार्य अनुसार फागहरु गाउने गरिन्छ । सगुना फाग गाउने क्रममा दमाहा बजाएर बढाइ गर्ने चलन डोटेली भाषी समुदायमा रहेको छ । उहाँका अनुसार बुढापाका महिलाहरुले मात्रै मौलिकता बोकेका यी गीतहरु धार्मिक तथा मांगलिक कार्यहरुमा गायन गरेको पाईछ ।

युवा तन्नेरी बुहारीहरुले सामाजिक सञ्जालमा अधिकांस समय टिकटक बनाउन र फोटो अपलोड गर्नमै बिताउनु गरेको उहाँ बताउनु हुन्छ । बुढापाकाले गाउने गीत भनेर लाज सरम मान्ने गरेका कारण पछिल्लो समयमा सगुना फाग गायन गर्ने थोरै मात्रै महिलाहरु रहेका छन । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले कञ्चनपुरको झलारीमा हराउदै गएका सगुना फाग लगायतका गीतहरु बारे नयाँ पिढीलाई जानकारी दिनका लागि शुक्लाफाँटा नगरपालिकाको सहयोगमा पाँच दिवसीय तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनु भएका महराले सगुन, फाग, ठाडो खेल, रोपाई मेलाहरुमा गाइने भैना देउडा गीतहरु ओझेलमा पर्दै जान थालेपछि तालिम मार्फत महिलाहरुलाई लयबद्ध रुपमा गायन गर्ने तौर तरिका सिकाउने कार्य गरि रहेको बताउनु भयो । सगुना फागका शब्दहरुको भाव एउटै हुने भएपनि गाउने लय जिल्ला पिच्छे फरक हुने गरेको उहाँले बताउनु भयो । सगुना फाग प्रमुख रूपमा महिलाहरूले गाउने परम्परागत गीत रहेको उल्लेख गर्नु हुदै तालिमका सहायक प्रशिक्षक महेश कुमार जोशी परम्परागत मौलिक गीतहरुले महिलाहरूलाई भाव व्यक्त गर्ने, अनुभव बाँड्ने र सामाजिक सन्देश दिने अवसर प्रदान गर्ने बताउनु हुन्छ । जिल्ला, जिल्ला र गाउँ, गाउँ अनुसार सगुना फागको लय फरक हुने भएपनि यसले दिने सन्देश र भाव भने एकै प्रकारको हुने गरेको उहाँ बताउनु हुन्छ ।

नयाँ पिढीलाई जागरुक गराई डोटेली सभ्यताको पहिचानका रुपमा रहेका गीतहरु जगेर्ना गर्न लाग्नु पर्ने उहाँको भनाई रहेको छ । यी गीतहरूमा उपदेश, संस्कार, सामाजिक व्यवहार जस्ता सन्देशहरू समेटिएका हुन्छन्, जसले भावी पुस्तालाई पनि संस्कार सिकाउने उहाँ बताउनु हुन्छ । महिलाहरुले सगुना फाग सामूहिक रूपमा गाउने भएकाले समाजमा एक्यवद्धता र सहकार्यको भावना पैदा गर्ने देउडा संस्कृति संरक्षण प्रतिष्ठानका कञ्चनपुर अध्यक्ष गोदावरी ठगुन्ना मार्कण्ड बताउनु हुन्छ ।“पुरानो संस्कृति जोगाए मात्रै डोटेली समुदायका पहिचान जोगिन्छ”उहाँले भन्नुभयो, “सगुना फाग गीतहरु बारे नयाँ पिढीका बुहारीहरुलाई सिकाउनका लागि तालिमले सघाउ पुग्ने विश्वास छ ।” “गाउँमा सगुना फाग गायन गर्ने थोरै मात्रै बुढापाका महिला हुने भएकाले उहाँहरुलाई समाजमा उच्च सम्मान दिने गरिन्छ, गायन वाफत स–सम्मान पूर्वक दान दक्षिण दिएर मात्रै विदा गरिन्छ” उहाँले भन्नुभयो, “अहिले फाग, सुगना गायन गर्ने महिलाहरुको खोजी गरेर मांगलिक कार्यमा सहभागी गराउनु पर्ने अबस्था रहेको छ ।” उहाँका अनुसार न्वारन गर्ने बेला, कपाल काटने बेला, ताई लगाउने बेला, जग्यो लगाउने बेला, हातमा पटली बाध्ने बेला, छोरीको विवाहमा खुट्टा धुने बेला, लया भुटने बेला, विवाहमा दुलही दुलहाले फेरा लगाउने बेला, जन्ती दुलहाको घरमा पुग्ने बेला, दुलही घर भित्र भित्राउने बेला सगुना र फाग गाउने गरिन्छ ।
यसैगरी, सासुले टिका लगाउने बेला, बेहुलाले तयार हुने बेला, बरयात दुलहीको घरमा पुग्ने बेला, गौरा पर्वमा विरुडा भिजाउने बेला, ब्रत बन्ध गर्ने बेला,सत्यनाराण कथा पुराण, सप्ताह महायज्ञका बेला फरक फरक लयमा फरक फरक सगुना फाग महिलाहरुले गाउने गर्दछन । मौलिक डोटेली सभ्यताका गीतहरु धार्मिक भावनाले ओतप्रोत हुने गरेका छन । सगुना फाग गाउने महिलाहरुलाई फगारी भन्ने गरिन्छ । एक जना जानकार महिलाले लयवद्ध रुपमा सगुना फाग गाउने गर्दछन भने अरु मांगलीक कार्यमा सहभागी महिलाहरुले उहाँकै सिको गर्दै लयमा लय मिलाउदै गाउने गर्दछन । डोटेली समुदायले मात्रै सगुना फाग गाउने मात्रै नभएर भारतको कुमाँउ गढवाल क्षेत्रमा पनि मांगलीक कार्यमा यी लोकगीतहरु परम्परागत रुपमा गाउने गरिन्छ ।
