चुरे गाँउपालिकामा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि सामग्री

दोधारा । विपद् जोखिमको दृष्टिले उच्च संवेदनशील मानिएको चुरे गाँउपालिकामा पहिलो पटक स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना हुने भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारी तथा कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ‘पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण (सान) परियोजना अन्तर्गत स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना तथा कार्य सञ्चालनका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघका निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरुले स्थानीय सरकार सञ्चालन ऐन अनुसार हरेक पालिकामा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र आवश्यक रहेको बताउनुभयो ।

यसलाई दृष्टिगत गर्दै चुरे गाँउपालिकालाई आवश्यक सम्पूर्ण सामग्रीहरु प्रदान गरिएको उहाँले बताउनुभयो । निमित्त कार्यकारी निर्देशक जैरुले उपलब्ध गरिएको सामग्रीहरु मार्फत पालिकाले केन्द्र सञ्चालन गरेर विपद् व्यवस्थापनका क्षेत्रमा उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । चुरे गाँउपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले चुरे गाँउपालिका बहु–प्रकोपीय जोखिममा रहेको बताउनुभयो । उहाँले पालिकामा विपद् व्यवस्थापन सम्बन्धी पूर्वतयारी प्राय: नभएको अवस्थामा यस प्रकारको सहयोग अत्यन्तै महत्वपूर्ण हुने धारणा राख्नुभयो । अध्यक्ष बोगटीले पालिका संग तथ्यांक र पूर्वतयारी योजना अभाव हुदा नीतिगत निर्णय गर्न कठिन भइरहेको तर्क गर्दै सामग्री प्राप्त भए संगै स्थापना हुने केन्द्रले डाटा संकलन देखि पूर्वसूचना व्यवस्थापन र विपद् प्रतिकार्य संयन्त्र विकासमा सघाउ पुर्‍याउने बताउनुभयो ।

पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण सान परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालनका लागि चुरे गाँउपालिकालाई एक थान डेल कम्प्युटर, डिजिटल डिस्प्ले बोर्ड, प्रिन्टर, राउटर, कार्यालय टेबल, एक्सटर्नल हार्ड डिष्क, कार्यालय कुर्ची, प्लाष्टिक कुर्चिहरु, नोटिस बोर्ड, स्टील कपबोर्ड, अफिस प्याकेट, भिजिबिलिटी बोर्ड र स्मार्ट बोर्ड सहित झन्डै रु. ६ लाख ४० हजार २ सय बराबरको सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

कैलालीको चुरे गाँउपालिका भौगोलिक रुपमा कान्छो पहाड क्षेत्रमै पर्ने भएकाले भूस्खलन, बाढी, सुख्खा र वन डढेलो जस्ता बहु–प्रकोपीय विपद्को उच्च जोखिममा छ् । विगतमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र वा पूर्वतयारी योजनाको अभावले पालिकामा विपद् व्यवस्थापनमा प्रभावकारी काम गर्न सकिएको थिएन् ।

स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रको स्थापना र प्रविधी सम्पन्न सामग्रीहरुको प्रयोगबाट चुरे गाँउपालिकाले स्थानीय स्तरमै जोखिमको आँकलन, डेटा व्यवस्थापन, तथा समग्र विपद् व्यवस्थापनमा प्रभावकारी काम गर्न सक्ने विश्वास गरिएको छ् ।

 

ताजा समाचार