पुनर्वास : कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा रहेर लेखन कार्यमा लागिरहेका अग्रज लेखक/ साहित्यकार, साहित्यानुरागी व्यक्तिहरूको आपसी छलफलबाट, आज मिति २०८२ साल जेठ २४ गते साहित्यकार रामचन्द्र नेपालको निवास, त्रिभुवन बस्ती पुनर्वास कञ्चनपुरमा भएको भेलाले राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानलाई चिरकालसम्म जीवन्त राख्न र नेपाली भाषा, संस्कृति – साहित्यको श्रीवृद्धिका लागि माधव – गौरी प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ ।

उक्त भेलाले माधव – गौरी प्रतिष्ठानका परिकल्पनाकार कविवर दीनानाथ बरालको संयोजकत्वमा क्रमशः रामचन्द्र नेपाल, दोजराज घिमिरे, राधिका कोइराला, गौरव शर्मा, हरिप्रसाद अधिकारी, लक्ष्मीप्रसाद पौडेल, नारायण प्रसाद अर्याल, पदम प्रसाद शर्मा सम्मिलित नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । गणेश दत्त न्यौपानेको संयोजकत्वमा विश्वनाथ विष्ट, भद्रकृष्ण रिमाल सूर्य प्रसाद पौडेल सम्मिलित ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । तदर्थ समितिलाई छ महिनाभित्र प्रतिष्ठानको विधान तयार गर्ने र विधिवत् रुपमा दर्ता प्रक्रिया पूरा गरी विधान बमोजिम प्रथम केन्द्रीय सम्मेलन गर्ने गरी जिम्मेवारी समेत प्रदान गरेको छ ।

कार्यक्रम बारेमा लक्ष्मीप्रसाद पौडेलबाट प्राप्त जानकारी अनुसार भेलामा उपस्थित व्यक्तित्वहरू दीनानाथ बराल, रामचन्द्र नेपाल, विश्वनाथ विष्ट, विष्णुप्रसाद पौडेल, हरिप्रसाद अधिकारी लगायतले प्रतिष्ठानको गठन र यसको उद्देश्य सम्बन्धमा उपस्थित सबैलाई अभिमुखीकरण गराउनुभएको थियो ।स्मरणीय छ कञ्चनपुरको पुनर्वास क्षेत्रमा साहित्यिक उन्नयनमा ज्योति पुस्तकालय तथा नवज्योती साहित्यिक मासिक पत्रिकाको पनि महत्वपूर्ण योगदान रहेको छ।

