एसएसबीद्वारा चाँदनीका नेपाली नागरिक सुनारको घर बनाउन अवरोध

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरका एक नेपाली नागरिकको घर बनाउन अवरोध गरेको छ । एसएसबीले दशगजा पर्ने भन्दै दोधारा चाँदनी नगरपालिका १ पशुपति टोलका लक्ष्मण सुनारको घर निर्माणमा अवरोध गरेको हो । तीन दिन अघि घर निर्माण स्थलमा पुगेका एसएसबीले यो क्षेत्र दशगजा हो, यहाँ अहिले घर बनाए पछि भत्काउनुपर्छ भन्दै दवाव दिएको घरघनीले बताएका छन ।

घरधनी लक्ष्मण सुनारले आफुले गत बर्ष मात्रै भोजराज अवस्थीसंग १०धुर जमिन खरिद गरेर घर लगाउन शुरु गरेपछि भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गरेको बताए । उनले आफुले अमिन ल्याएर घर बनाउन जग खनेको बताउँदै लालपुर्जावाला जमिनमा पनि घर बनाउँदा भारतीय पक्षबाट अवरोध दुखत विषय भएको बताए । एसएसबीले घर बनाउन नदिएपछि सुनारले जग खनेर छाडेका छन । उक्त क्षेत्रमा ०२३ सालदेखि नेपाली नागरिकको बसोबास रहेको छ । विगतका बर्षहरुमा समेत कञ्चनपुरका अन्य सीमावर्ती गाँउबस्तीमा एसएसबीले नेपाली नागरिकलाई घर बनाउन अवरोध गर्दै आएपछि त्यसको बिरोध हुँदै आएको छ । दोधाराचाँदनी १ का वडाध्यक्ष विक्रम चन्दले नेपाली नागरिक लक्ष्मण दमाईकोे एसएसबीले घर निर्माण अवरोध बारे आफुले मेयर किशोर कुमार लिम्बुलाई जानकारी गराएको बताए ।

‘तीन दिन अघि एसएसबी आएर घर निर्माण स्थल दशगजामा पर्छ, दुई हात पर बनाउन आग्रह गरेको देखियो, ‘उनले भने, ‘उक्त स्थानमा स्पष्ट नापजाँच पर्नुपर्ने देखियो, नेपाली दर्तावाला जमिन कहाँसम्म हो, अनि दशगजा कहाँबाट पर्छ यो एकिन हुन जरुरी छ ।’ कञ्चनपुर सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले लक्ष्मण सुनारले घर निर्माण स्थल दशगजामा पर्ने जनाएको छ । नेपाली नागरिक सुनारले आफ्नो दर्तावाला जमिन छाडेर दशगजातिर घर बनाउन खोजेपछि एसएसबीले रोक्न खोजेको देखिएको र उक्त विषयमा सरोकारवालासंग संयुक्त छलफल गरेर विवाद निरुपण गरिने सशस्त्र प्रहरीले जनाएको छ । सुनारको घर दशगजामा पर्ने भएपनि भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नेपाली सुरक्षा बल सशस्त्र प्रहरीसग समन्वय गर्नुको साटो सिधै दशगजामा पर्ने भन्दै अवरोध गरेपछि कतै भारतीय पक्षले जहिल्यै पनि नेपालमाथि हेपाह प्रवृति देखाएको भन्दै आलोचना बढिरहेकोे छ ।

ताजा समाचार