राजेन्द्रप्रसाद पनेरु/झलारी : शुक्लाफाँटा नगरपालिकामा नेपाली सेनाको भगतपुर स्थीत श्रीदल गुल्मले जिल्ला स्तरीय सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको छ । तालिमको समुदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाली सेनाका सहाक रथी माघव थापा, शुक्लाफाँटा नगरपालिकाका नगर उप प्रमुख कल्पना पन्त, नेपाली सेनाका सेनानी उत्तम खड्का, सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्ट र नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टको सहभागीता रहेको थियो ।

तालिममा नौ वटै स्थानिय तहका विपद् व्यवस्थापन शाखाका कर्मचारी, नेपाली सेनाका जवान, नेपाल स्काउटका प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका प्रतिनिधि, एनसिसि क्याडेट, सशस्त्र प्रहरीका जवान र नेपाल प्रहरीका विपद् सम्बन्धी कार्यमा संलग्न जवानहरुको सहभागीता रहेको छ । तालिममा सहजीकरण श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेल, कालिरक्षा गण(ई) कैलालीका उप सेनानी विदेश बजगाई, श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका जमदार नृप बहादुर रोकायाले गरि रहनु भएको छ ।
श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेलले तालिमका सहभागीहरुलाई भूकम्पीय अबस्थाका बारेमा जानकारी दिनु भएको छ । सेनानी पौडेलले भूकम्प आउनुुु पूर्वको तयारी, भूकम्पीय जोखिमका कारणहरु, पारिवारिक तथा सामुदायिक योजना, अल्पकालीन बस्तुको व्यवस्था, प्राथमिक उपचारका सामग्रीहरुको व्यवस्था, सुरक्षित स्थानको पहिचान गर्ने तरिका, घर भित्रको सुरक्षित स्थान, घर बाहिरको सुरक्षित स्थान, अल्पकालीन सञ्चार सम्बन्धको योजना बारे तालिमका सहभागीहरुलाई जानकारी गराउनु भएको छ । यसैगरी, उहाँले भूकम्प आएको बेला अपनाउनु पर्ने सावधानी, भूकम्पको दौरान गर्न नहुने कार्यहरु, भूकम्प आएपछिको द्रुत खोजी, हेलिङ्ग खोज विधि, भित्र ठाउको लागि भौतिक खोजको स्वरुप, बहुकोठा खोज विधि लगायत बारे जानकारी गराउनु भएको छ । घर निर्माण गर्दा मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी बनाईनु पर्नेमा जोड दिनु भयो । भूकम्पको जोखिका हिशावले नेपाल विश्वमा ११ औं स्थानमा रहेको चर्चा गर्नु हुदै उहाँले भूकम्प जहिले पनि आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाले पूर्व तयारी गरी सावधानी अपनाउनु पर्ने बताउनु भयो ।
श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका जमदार नृप बहादुर रोकायाले प्राकृतिक, प्रविधिजन्य त्रुटी र मानवीय हेलचक्रयाईका कारण आगलागी र वनडढेलो लाग्ने गरेको बताउनु भयो । आगलागीका घटना हुन नदिनका लागि अपनाउनु पर्ने सावधानी, आगलागी भैहाले नियन्त्रण गर्ने उपाय बारे तालिमका सहभागीहरुलाई उहाँले बताउनु भयो । कालि रक्षा गण(ई) बढैया कैलालीका उप सेनानी विदेश बजगाईले सर्पदंश लागेमा के गर्नुे र कसरी बच्ने भन्ने बारे जानकारी दिनु भयो । उहाँले सर्पको इतिहासका बारेमा चर्चा गर्दै नेपालमा पाईने विषालु सर्पका प्रजाती, सर्प पाईने स्थान, सर्पको डसाईबाट बच्ने उपाय, सर्पको डसाई पश्चात देखिने चिन्ह तथा लक्षण, सर्पको डसाई पश्चात गर्ने कार्यहरु लगायतका बारेमा जानकारी दिनु भयो ।
सर्पदंश लागेमा झारफुक गर्ने धामी झाक्रि र गुरुवा कहाँ लैजाने परिपाटी अझै विद्यमान रहेको छ, धेरै जनाको यसै कारणले ज्यान जाने गरेको छ” उहाँले भन्नुभयो, “सर्पदंश लागेका व्यक्तिहरुलाई सर्पदंश उपचार केन्द्रमा पुरयाउन सकिए ज्यान जोगाउन सकिन्छ ।” तालिमका क्रममा उहाँले नेपाल भर २३ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेको जानकारी दिनु भयो । “केन्द्रबाट हाल सम्म १२ हजार बढी सर्पदंश लागेका व्यक्तिहरुको उपचार गरेका छौं” उहाँले भन्नुभयो,“अहिलेको समय आहारा खोज्ने, प्रजनन गर्ने संगै बढदो तापक्रमले सर्प दुलोबाट बाहिर निष्कने भएकाले सावधानी अपनाउनु पर्छ टिकटकमा भाइरल हुनका लागि सर्पलाई असावधानी पूर्वक समात्न खोज्दा डस्ने संभावना प्रवल हुने भएकाले त्यसो नगर्न उहाँले आग्रह गर्नु भयो । तालिम वैशाख ३, ४ र ५ गते सम्म सञ्चालन हुने छ ।
भोली बाढीजन्य प्रकोप, भान्सामा ग्याँसबाट हुने आगलागी नियन्त्रण गर्ने तरिका बारे सहभागीहरुलाई जानकारी दिने कार्य हुने नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्ण भट्टले जानकारी दिनु भयो । उहाँका अनुसार तालिमको अन्तिम दिन विपद्जन्य घटना बारे सर्वसाधारणलाई जानकारी गराउनका लागि कृतिम नमूना अभ्यासको कार्य गरिने छ । तालिममा समन्वय तथा व्यवस्थापनको कार्य शुक्लाफाँटा नगरपालिका र श्रीदल गुल्म भगतपुर व्यारेकले गरि रहेको छ । तालिममा गैरसरकारी संस्था एनएनएसडब्लुए र निडस नेपाल कञ्चनपुरले सहयोग गरेका छन ।
