झलारी : महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड झलारीको आयोजनामा शुक्लाफाँटा नगरपालिका ६ कसरौलमा सञ्चालित एक दिने सहकारी शिक्षा तथा अन्तर समुह सुदृढीकरण तालिम सम्पन्न भएको छ । सहकारीका अध्यक्ष धनेश्वरी भट्टको सभापतित्वमा आयोजना गरिएको तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथिमा वडा अध्यक्ष दान बहादुर ऐर प्रमुख अतिथि रहनु भएको थियो ।

विशिष्ट अतिथिमा कार्यपालिका सदस्य द्वय भूमा चन्द र लक्ष्मी ऐर रहनु भएको थियो । तालिमका प्रमुख अतिथि वडा अध्यक्ष ऐर र विशिष्ट अतिथि द्वयले तालिमको सफताको कामना गर्नु भएको थियो । सहकारीका अध्यक्ष धनेश्वरी भट्ट र प्रशिक्षक कर्ण बहादुर धामीले तालिमको सहजीकरण गर्नु भएको थियो ।
तालिमका क्रममा प्रशिक्षक द्वयले अन्तर समुहलाई कुन तरिकाले सुदृढ गरेर लैजाने, सहकारीको इतिहास, परिचय, स्थापना, फाईदा, सिद्धान्त, समुह परिचालन, बैठक सञ्चालन, सहकारीले पुरयाउने फाईदा, सहकारी गठन प्रकृया, सहकारीमा आवद्ध सदस्यहरुको काम कर्तव्य र अधिकार संगै विद्यमान कानुनी पक्षका बारेमा जानकारी दिने कार्य गर्नु भएको थियो ।
तालिममा ४७ जना सहकारीमा आवद्ध सदस्यहरुको सहभागीता रहेको थियो । तालिम सञ्चालनका लागि वित्तिय सहयोग साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड अत्तरिया कैलालीले गरेको छ । विसं २०७० सालमा स्थापना भएको सहकारीमा एक हजार छ सय ७५ सेयर सदस्य रहेका छन । सहकारीमा तीन सय १० समुह आवद्ध रहेका छन ।
