थारु समुदायका महिलाहरुका लागी लेहङ्गा तालिम सञ्चालन

खडक बहादुर कोली/शुक्लाफाँटा : शुक्लाफाँटा नगरपालिका ३ नम्बर वडा कार्यालयले वडामा रहेका थारु समुदायका महिलाहरुका लागी लेहङ्गा तालिम सञ्चालन गरेको छ । निःशुल्क सीप सिकौं आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिम व्यवसायिक तथा सीप विकास तामिल केन्द्र कञ्चनपुर र शुक्लाफाँटा ३ नम्बर वडा कार्यालयको सहकार्यमा डेढ महिने थारु लेहंगा बनाउने तालिम सञ्चालन गरिएको हो ।

पुराना कला संस्कृति संरक्षण, नयाँ पुस्ताहरुमा हस्तान्तरण र व्यापार व्यवसाय गरि आत्मनिर्भर बन्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको वडा नं. ३ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले बताए । त्यसैगरी ३ का वडा सचिव श्यामलाल डगौराले लेहङ्गा कञ्चनपुरमा नमिल्ने भएकाले स्थानीय थारु समुदायका महिलाहरु धनगढी बजार किन्न जानुपर्ने बाध्यता रहेकोले सीप सिकेर स्थानीय स्तरमै उत्पादन गरि व्यापार व्यवसायमा आर्कषित हुने सचिव डगौराले बताए ।

चैत ७ गतेदेखि सञ्चालन गरिएको थारु लेहङ्गा तालिममा २० जना थारु समुदायका महिला सहभागी रहेका छन । तालिमको प्रशिक्षण लक्ष्मी कुमारी चौधरीले दिईरहेकी छन भने प्रशिक्षक चौधरीका अनुसार थारु समुदायले लगाउने लेहङ्गामा थारु समुदायको संस्कृति झल्किने सितारा बुट्टा भरिने र १ महिलाले १ लेहङ्गा बनाउन एक महिना लाग्ने बताइन । तालिम डेढ महिनासम्म चल्ने छ । यस भन्दा अघि २०७६ सालमा ३० जना थारु महिलाहरुलाई उक्त तालिम दिइएको थियो । शुक्लाफाँटा नगरपालिका ३ नम्बर वडाले आफ्ना वडाबासीलाई कम्प्युटर तालिम, मेकानिकल अन्तर्गत मोटरसाईकल मर्मत, कृषि तालिम, तरकारी खेती सम्बन्धी तालिम र युवालाई लागुऔषधबाट बच्नका लागि विभिन्न खेलका सामग्रीहरु उपलब्ध गराई खेलतिर आकर्षित गराउँँदै आएको अध्यक्ष चौधरीले बताए ।

ताजा समाचार