कञ्चनपुरमा गणतन्त्रका पक्षमा आज एमालेको शक्ति प्रदर्शन

महेन्द्रनगर : नेकपा (एमाले) कञ्चनपुरले गणतन्त्रका पक्षमा शक्ति प्रदर्शन गर्ने भएको छ । सोमबार जिल्ला स्तरीय मोटरसाइकल ¥याली आयोजना गरी गणतन्त्रका पक्षमा जागरण फैलाउन तयारी थालिएको हो ।संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियान अन्तर्गत सदरमुकाम महेन्द्रनगरलाई केन्द्रबिन्दु बनाएर मोटरसाइकल ¥याली तथा कोणसभा आयोजना गरिने एमाले पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले जानकारी दिए ।

¥यालीको तयारीका लागि (शनिबार) जिल्ला कमिटी अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा बैठक बस्यो । पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा अर्का पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज निरुदेवी पालको विशेष उपस्थिति रहेको थियो । बैठकले ¥याली ब्यवस्थापन तथा सहभागिताका लागि जिम्मेवारी बाडफाड गरेको छ । ¥यालीमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नगर÷गाउँ कमिटीका अध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि भनिएको छ । ¥याली दिउसो २ बजे एमाले जिल्ला कमिटी कञ्चनपुरको कार्यालयबाट सुरु हुने र नगरका मुख्य–मुख्य स्थान र राजमार्ग क्षेत्रमा पुग्ने पोलिटब्युरो सदस्य रावलले बताए । भीमदत्त, दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकाबाट नेता कार्यकर्ता ¥यालीमा सहभागि हुने छन् ।

यस्तै बेलडाँडी र लालझाडीबाट समेत मोटरसाइकल सहित सहभागिता जनाइने बताइएको छ । एमालेले कम्तिमा पनि दुई हजार भन्दा बढी मोटरसाइकलसहित ¥याली निकाल्ने भित्रि योजना बनाएको छ । ‘गणतन्त्रको पक्षमा जागरण फैलाउन र सरकारले जनताका पक्षमा गरेका ऐतिहासिक काम र योजना बुझाउनका लागि ¥याली आयोजना गरिएको हो,’ पोलिटब्युरो सदस्य रावलले भने, ‘मृत भइसकेको राजतन्त्रका पक्षमा देशमा मच्चाइएको पछिल्लो अराजकता र अमानवियताविरुद्ध पनि खबरदारी गर्ने छौं ।’

ताजा समाचार