सरोज दिलु : करिव १२ लाख नेपाली मूलका मानिसहरुको जनघनत्व भएको शहर हो– देहरादुन । अझ त्यहाँ रहेका नेपालीलाई हामी खास्सा नेपालीहरु अतिप्रीय लाग्छन्, नेपाली उत्पादनहरु मनपर्दछन् । भारतीय मुलवासीहरु समेत नेपाललाई सम्मान गर्छन् र एकपल्ट घुम्न नेपाल आउने धोखो राख्छन् । उनीहरुले बुझेको नेपाल भनेको देवीदेवताहरु भूमिहो, आज पनि यहाँ जिउँदा इश्वर बस्छन् । अझ सिंगो उत्तराखण्डलाई सञ्चालन गर्ने मुख्यमन्त्री नै नेपाली मूलका पुस्कर सिंह धामी छन् । नेपाल प्रति सम्मान राख्नेहरुको भूमिमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारको वजेट र उद्योग बाणिज्य महासंघ कन्चनपुरको ब्यवस्थापनमा हामी इन्डो-नेपाल कल्चर हेरिटेज ब्यापार मेला २०२५ मा देहरादुन पुगेका थियौं । तर हामी नेपालीको स्वभाव अलग्ग रह्यो । नेपालीहरुमा शान्त, सौभ्य, शालिनता र सुन्दर संस्कृति हराउँदै गएको देखिन्छ ।

देहरादुनीहरुले हामीलाई जसरी बुझेका छन्, हामी त्यस्तो देखिएनौं । हामी नेपालीमा मनतातोमा पनि उम्लिने र उम्लेपछि पोखिइ हाल्ने संस्कार छ । जुन कुनामा पुगे एकअर्कामा झगडा गरिहाल्ने, यो भएन त्यो भएन भनेर गुनासै मात्र पोखिरहने, अरुलाई मात्र दोष दिइरहने र पाए सम्म ठूलाले सानालाई विभेद गरिहाल्ने ब्यवहार हाम्रो नशा नशामा पसेको छ । साउथ अफ्रिका पुग्दा हामी नेपालीले त्यहाँ गरेको ब्यवहार, अनि मेरो नेतृत्वमा बंगलादेश पुगेको टीमको ब्यवहार सम्झँदाआज पनि घृणा लाग्छ । यहाँ पनि करिव त्यस्तै त्यस्तै ब्यवहार थियो– इन्डो नेपालकल्चर हेरिटेज ट्रेडफेअरमा आाउने हामी नेपालीहरुको । कञ्चनपुर देखि देहरादुनभरीको यात्रामा कसैमा आयोजक प्रति सकारात्मक भावना थिएन, एकआर्कामा समेत सहयोग र सद्भावको कमी नै देखियो । देहरादुन पुग्ने–फर्कने सवै ब्यवस्थापन गरिदिने उद्योग वाणिज्य संघका पदाधिकारीहरुले हामीलाई प्रोत्साहन नै हुनेगरी प्रतिवद्धता जनाइरहेकै थिए, प्राविधिक कमजोरी भएकोमा माफी पनि मागिरहेकै थिए । तर उनीहरुलाई धन्यवाद दिने त कता कता सित्तैमा पाएको अवसरमा समेथ हामी उत्तेजक भएर असन्तुष्टी मात्र जाहेर गर्दै थियौं, आयोजकहरु माथी घुर्की लगाइरहेका थियौंँ, उनीहरुलाई धम्कीदिइरहेका थियौं । हाम्रो समानहरु किन पार गराउन नसक्ने ? नसक्ने हो भने हाम्रो समान खुरुक्क जहाँबाट ल्यायौं, त्यही फर्कादियौं भन्दै थियौं ।
सरकार र सरकार अधिनस्थ संस्था भएपछि समानहरुको वारपार दुई देशको सम्वन्ध अनुकुलतामा हुने गर्दछ । स्वभाविक रुपमा अन्तर्राष्ट्रिय कानुन अनुसार विभिन्न प्रकृयाहरु पुरा गर्नैपर्छ । ब्यक्तिगत सम्वन्ध, सेटिङ वा घुसपैठ्ले काम त सजिलै होलान् तर सरकार वा एउटा गरिमा बोकेको संस्थाले त्यसो गर्न कदापी पाइँदैन । तर ब्यापारी साथीहरुको दवाव चैं जसरी पनि हाम्रो समानहरु गन्तब्यमा पुग्नुपर्यो, होइनभने तिमीहरुले राजिनामा दिनुपर्यो, तिमीले नसके हामी नै महाकालीवारीबाट उचालेर फुत्तपारी पुर्याउन सक्छौं जस्तो गरिरहेका थिए । ब्यवस्थापकहरुले एक करोड दशलाखको खर्च हिसाव सार्वजनिक गर्लान् नै, तर सित्तैमा होटलमा राखेकाछन्, गन्तब्य सम्म जान–आउन निःशुल्क बस ब्यवस्था, बाटामा खुवाउने–पियाउने देखि नेपाली स्टलहरुको पैसा तिरिदिएको छ । गन्तब्य स्थलसम्म समानहरु ओसार पसार गर्न र देहरादुन पुगे पछि प्रदर्शनी शुरु हुने दिनसम्मको होटल बसाई र खाना खर्च समेत बेहोरेको छ । राज्यले ब्यापारीहरुलाई दिइने यो भन्दा सुविधा अरु के हुनसक्छ ?
अन्य देशबाट नेपाल आउने ब्यापारीहरुले नीजि खर्चमा आइ नीजि रुपमा कस्टम क्लिएर गरी समान ल्याउँछन्, अनी आफैं होटल ब्यवस्थापन गरेर बस्छन्, स्टल रजिष्ट्रेशनचार्ज समेत आफैं तिर्छन् । अन्य देशमा नीजितवरबाट गएका साथीहरुले पनि आफैं सवै ब्यवस्थापन गर्दै आएको हामीले सुनेदेखेकै हौं । तर ब्यापारीहरुलाई एउटा गरिव राज्यले यो सुविधा दिनु भनेको ठूलो सहयोग हो । तथापि साथीहरु होटलमा चप्पल छैन, एसी चलेन, दिशा पिसाव गर्दा पेटमा गडबढ् भयो । चिसो पानी आउँदा कति चिसो, तातो आउँदा कति तातो आएको ? यो सव ब्यवस्थापकहरुको नालायकीपन हो भनिरहेका थिए । खानाखाँदा रोटी अलिकता डढेको पर्यो वाखोर्सानीपीरो भयो वा वैटरले एउटा रोटी थप्न अलिकता ढिलो गर्यो भने त्यसको दोष समेत उद्योग वाणिज्य संघ र सरकारका प्रतिनिधि कर्मचारीलाई नै दिइरहेका थिए । कसैको कुरा सुन्ने र धेर्य गर्ने संस्कृति त अधिकांशमा थिएन । बोर्डरमा भारतीय सुरक्षाकर्मीहरुले गरेका ब्यवहार हेर्दा जो सुकैलाई दुःख लाग्छ नै । तर साथीहरु त्यसको दोष समेत आयोजकलाई दिइरहेका थिए।
चैत्र ५ गने देहरादुन पुगियो । मध्ये शहरको नाम चलेकै होटलमा बस्ने ब्यवस्था गरिएको रहेछ, जहाँ सामान्य भारतीयहरु समेत बस्न सक्दैनन् । तर हामी नेपालीहरु भने ओछ्यानको तन्ना भएन, तौलीकालो रंगको भयो, ट्वाइलेट सफा भएन, पछाडिको कोठा भयो, भुईंतलाको भयो, धेरै माथि तलाको भयो भनेर गुनासै मात्र गरिरहेका थिए । करिव ५०० मिटर पर खानपानको लागि ब्यवस्थापन गरिएको थियो । तर त्यहाँ पनि खानापिना भएन, त्यसले विमारी भए कसले जिम्मा लिने ?त्यस्तोमा हामीले खाने हो ? हामीलाई हेपेको ?? भनेर आक्रोस नै पोखिरहेका थिए । फेरी घुमिफिरी त्यसै होटलमा खाइन्थ्थो तर कसैलाई कुनै रोग लागेन त ! समानहरु पार गर्न उद्योग बाणिज्य संघ, ब्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको पहलमा सरकार टु सरकार र दुई देशकै दुतावास देखि गड्डाचौकी सीमा सुरक्षाकर्मचारी सम्म पहल भइरहेकै थियो । प्रकृयागत रुपमा जाँदा ढिला सुस्ती हुनु स्वभाविकहो । विदेशबाट आएका वस्तुहरु हाम्रै नेपालको कस्टममा महिनौ अडकिएर बसेकै छन् । तर पनि ब्यवस्थापक साथीहरुले मेला शुरु हुनु भन्दाअगावै तपाईकै स्टलस्टलमा समानहरु पुर्याई दिन्छौं ढुक्क हुनुस् भनि रहँदा समेत त्यसमा विश्वास र धेर्यता गर्ने संस्कार कसैमा थिएन । बरु ब्यवस्थापकीय सदस्यहरुलाई देख्यो कि दोहोर्याई – तेहर्याई हाम्रो समानअहिले सम्म किन नल्याएको, के हामी स्टल मात्र रुग्न आएकाहौं र ? ल्याउने नसक्ने भए हामी खुरुकक्क फिर्ता जान्छौं भन्दै घेरावन्दी गरिहाल्थे । अझ पोहोर प्राहर भन्दा यो वर्ष किन बिक्री नभएको, बिक्री नभएर घाटा गयो भने हामीलाई कसले क्षतिपुर्ति दिन्छ ? भनेर एकआर्कामा गुनासो गरिरहेका थिए ।
साउथ अफ्रिकामा २०१० मा भएको युथ सोसल फोरममा पुग्दा हामी आफूआफू नै कुटाकुट गरेर तमाशा देखाई फर्कियौं । बंगलादेश सोसल फोरममा मेरो नेतृत्वमा गएको टोलीले पनि भत्ता दिएन भनेर यात्रा भरी गुनासै मात्र गरिरह्यो । नेपाल आइपुगे पछि खर्च भइ बाँकी बसेको पैसा संस्थाको खातामा वचत गर्ने कि ब्यक्तिगत भाग लगाउने भन्ने विषयमा हामी ब्यवस्थापक सदस्यहरु वीच नै कुर्सी हानाहान भयो । म समावेश भएको वैदेशिक टोलीमा मात्र होइन, अरु साथीहरु सम्मिलित समुहमा पनि यस्ता हर्कतहरु भएको सुनिन्छ, पढिन्छ । यसबाट के देखिन्छ भने विश्वमा शालिन स्वभाव, सरल मिजास र सहयोगी भावना भएका वहादुर नेपाली भनेर पहिचान बनाएको नेपालीको ब्यवहार चैं त्यसको ठिक विपरित छ । चाहे ब्यापारी हुन् या चाहे युवा–विद्यार्थी वाचाहे सामाजिक अभियन्ताहरु, गुनासै मात्र गर्ने, घुर्की मात्रै लगाउने, नकारात्मक रुपमा मात्र प्रस्तुत हुने यस्तो शैलीहरुले पछिका दिनहरुमा राज्यका निकायहरुलाई यस्ता कार्यक्रमहरु गर्न हतोत्साही बनाउँछ नै, अर्कोतर्फ हाम्रो अन्तर्राष्ट्रिय छवीमा समेत असर पर्दछ । र, सोही कारणले विदेशीले हामीलाई हेर्ने नजर र गर्ने ब्यवहार समेत हलुका भइरहेको छ । अतःआगामी दिनहरुमा राज्यले यस्ता अन्तर्राष्ट्रिय मेला, भेला, सभा–सम्मेलन वा महोत्सवहरुको ब्यवस्थापन गर्दा बस्तु ब्यापार गर्ने मात्र नभर्ई नेपाली संस्कृति, ब्यवहार र आचरणलाई पनि अझ गर्विलो र अनुशासित बनाउने तर्फ सोच्नै पर्दछ ।
