दोधारा । कञ्चनपुरमा ‘विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य’ सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको आयोजना तथा भीमदत्त नगरपालिकाको समन्वयमा सरोकारवालाहरुलाई ‘विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य’ सम्बन्धी अभिमुखीकरण गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरुले विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि सबै तह र तप्काको सक्रीयता आवश्यक पर्ने भएकाले उनिहरुको क्षमता वृद्धि गर्नका लागि अभिमुखीकरण गरिएको बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले विपद् पूर्वतयारी, पूर्व चेतावनी, प्रारम्भिक कार्य, विपद् प्रतिकार्य, उद्धार तथा राहत साथै पुनर्निर्माणका बेला आ–आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गरेर विपद्को जोखिमलाई कम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले यस अभिमुखीकरणले भविष्यमा आउन सक्ने ठूलो विपद्को जोखिमलाई कम गर्नमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामुदायिक विपद् व्यवस्थापन समिति, उत्थानशील युवा सञ्जाल, विद्यालयका शिक्षक, नेपाल रेडक्रस सोसाईटी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल साथै एनएनएसडब्लूएमा ईन्टर्नशीप गरिरहेका सुदूरपश्चिम विश्वविद्यालयमा बीएसडब्ल्यू अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सिद्धनाथ माध्यमिक विद्यालय बडैपुरका शिक्षक भोजराज भट्टले विपद् जोखिम न्यूनिकरणमा शिक्षकहरुको भुमिका उच्च रहने बताउनुभयो । उहाँले विपद् व्यवस्थापनलाई विद्यालय स्तरको पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै पावर अफ युथका अंकित जोशीले अभिमुखीकरणमा सहभागी भएपश्चात विपद् पूर्वानुमान तथा प्रतिकार्य साथै राहत र पुनर्निर्माण कार्यमा संलग्न हुनका लागि आवश्यक ज्ञान र सीप प्राप्त गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

उहाँले भविष्यमा विपद्को अवस्थामा प्रभावकारी कदम चाल्न साथै समाज रुपान्तरणमा थप रचनात्मक कार्य गर्नमा ठूलो उर्जा प्रदान गरेको बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आधारभूत मानवीय सहायता मापदण्ड, पूर्वसूचना तथा पूर्वप्रतिकार्य लगायतका क्षेत्रमा क्षमता, भूमिका र नेतृत्व विकासका लागि काम पहल गर्दै आएको छ् ।

संस्थाले यस अघि पनि भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा राजनीतिक दलका भातृ संगठन प्रतिनिधिहरुलाई ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन एवम् मूल मानवीय मापदण्ड’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो ।
