सीएफसीसीले सञ्चालन गर्ने कार्यक्रमबारे सरोकारवालासँग छलफल

महेन्द्रनगर : सामुदायिक वन समन्वय समिति कञ्चनपुर (सीएफसीसी)ले चैतदेखि सञ्चालन गर्ने कार्यक्रमबारे सरोकारवालालाई जानकारी दिएको छ। बुधबार सीएफसीसीले तराई भु–परिधि कार्यक्रममार्फत सामुदायिक वनहरुसँगको साझेदारीमा सञ्चालन गर्ने कार्यक्रमबारे सरोकारवालालाई जानकारी दिएको हो। आगलागी नियन्त्रणका लागि तीन महिने अभियान सञ्चालन, दिगोवन वन व्यवस्थापन कार्यक्रम, अपांगता भएका व्याक्तिहरुलाई संरक्षणमा जोड्दै उनीहरुलाई आयआर्जनमा सहयोग कार्यक्रम, वन हेरालुलाई पोशाक वितरण, वनहरुसँगको सहकार्यमा चोरी सिकारी नियन्त्रण गर्न गस्ती गर्ने, बिरुवा उत्पादन तथा वितरण कार्यक्रम सञ्चालन गरिने सीएफसीसीका अध्यक्ष महेशदत्त जोशीले बताए।

उनका अनुसार वन्यजन्तु उद्धार कार्यक्रम, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएका सामुदायिक वनमा झाडी सफाई, जैविक तटबन्ध निर्माण, वनमा आधारित उद्यम प्रवद्र्धन, विजयसाल होमस्टेको हल मर्मत, हात्ती प्रभावित क्षेत्रमा मौरीका घार वितरण, विद्यालय स्तरमा गठन गरिएका इको क्लबलाई वातावरण संरक्षणमा जोड्न जनचेतनामूलक कार्यक्रम सञ्चालन, गोठ सुधारलगायतका कार्यक्रम सञ्चालन गरिनेछ। ‘तराई भू–परिधि कार्यक्रममार्फत प्राप्त कार्यक्रमहरुलाई चैत्रदेखि सञ्चालन गर्नेछौं,’ उनले भने, ‘तालिमहरु सीएफसीसीले सञ्चालन गर्नेछ, अन्य कार्यक्रमहरु सामुदायिक वनहरुको साझेदारीमा सञ्चालन हुनेछन्।’ संरक्षणका क्षेत्रमा कार्यक्रम सञ्चालनका लागि ५२ लाख ३१ हजार ५ सय रुपैयाँ खर्च गरिने सीएफसीसीका टीम लिडर शिवदत्त पन्तले बताए।

उनका अनुसार कृष्णपुर, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछन्। तराई भू–परिधि कार्यक्रमका प्रतिनिधि शेरबहादुर चौधरीले सीएफसीसीद्धारा सञ्चालित कार्यक्रममा स्थानीय तहको सहभागिता गराउँदा प्रभावकारी हुने बताए। ‘कार्यक्रमहरुलाई प्रभावकारी तथा पारदर्शी बनाउन सीएफसीसीले अनुगमन जोड दिनुपर्छ,’ उनले भने। सामुदायिक वनका पदाधिकारीको क्षमता अभिबृद्धि तथा स्वरोजगार बनाउन सीएफसीसीको महत्वपूर्ण भूमिका रहेको कृष्णपुर–२ का वडा सदस्य जितबहादुर चौधरीले बताए। ‘सीएफसीसीका कार्यक्रम राम्रा छन्, वडाबाट सक्दो सहयोग गर्नेछौं,’ उनले भने। लालझाडी गाउँपालिका–४ का अध्यक्ष बहादुर रानाले हात्ती प्रभावित क्षेत्रमा मेसवायर जडानमा सहकार्य गरिदिन आग्रह गरे। ‘हामीले मेसवायर जडानका लागि बजेट विनियोजन गरेका छौं, त्यसमा सीएफसीसीसँग सहकार्य गर्न चाहन्छौं,’ उनले भने, ‘वडा नं. ४ मा चारैतिर नदीहरु छन्, त्यहाँ जैविक तटबन्धको व्यवस्थापन गरिदिन आग्रह गर्दछु।’ संरक्षणका क्षेत्रमा लागेकाहरुलाई विभिन्न मुद्दा लगाएर काम गर्न नदिने परिवाटी बढेको शुक्लाफाँटा नगरपालिका–८ का अध्यक्ष बहादुरसिंह महराले बताए। ‘पुरै राज्य सत्ता एकातिर लागेर वन संरक्षणकर्मीहरुलाई सक्न लागेका छन्, हामी निरन्तर संरक्षणको क्षेत्रमा काम गरिरहेका छौं,’ उनले भने, ‘सामुदायिक वनहरुमा १÷२ वर्ष अध्यक्ष भएकाहरुले नयाँ आएकालाई काम गर्न नदिने परिपाटी हाबी भएको छ।’

भ्रष्टहरुको जालो तोड्न सबै संरक्षणकर्मी एकमत हुनुपर्ने उनी बताउँछन्। ‘वास्तविक संरक्षणमा लागेकाहरुले विभिन्न मुद्दाहरु खेप्नु परेको छ, विभिन्न बाहनामा वन अतिक्रम भइरहेका छन्,’ उनले भने, ‘सबै संरक्षणकर्मी एकमत हुनु जरुरी छ।’ सामुदायिक वनहरुले राज्यलाई कर तिरेको अनुपातमा कार्यक्रमहरु पाउनुपर्ने अध्यक्ष महराले बताए। ‘वनहरुले राज्यलाई कर तिर्नुपर्ने तर राज्यले कुनै सुविधा दिदैन्,’ उनले भने, ‘अब सामुदायिक वनहरुलाई राज्यले कार्यक्रम उपलब्ध गराउनुपर्छ।’ वन संरक्षणको दायित्व सबैको रहेको बाणी सवडीभिजन वन कार्यालयका बरिष्ठ अधिकृत भरतप्रसाद शाहले बताए। ‘वनको संरक्षण गर्नु सबैको दायित्व हो, सामुदायिक वनहरु कार्यविधि र विद्यान अनुसार सञ्चालन हुनुपर्छ,’ उनले भने, ‘आगलागी र चरिचरनबाट बचाउन सके वन आफै संरक्षण हुन्छ।’ सामुदायिक वनहरुमा सुशासनको आवश्यक रहेको उनले बताए। ‘वनहरुले सुशासनमा ध्यान दिनु जरुरी छ, कतिपय सामुदायिक वनहरुले नाम मात्रैको साधारणसभा गर्ने गरेका छन्,’ उनले भने। सीएफसीसीका अध्यक्ष जोशीको अध्यक्षतामा भएको समन्वय बैठकमा वन अधिकृत शाह प्रमुख अतिथि, शुक्लाफाँटा–८ का अध्यक्ष महरा र लालझाडी गाउँपालिका–४ का अध्यक्ष राना विशिष्ट अतिथि रहेका थिए।

ताजा समाचार