कञ्चनपुर – नेपालको सुदूरपश्चिम क्षेत्र प्रतिभाशाली कलाकारहरूको भण्डार हो। यस्तै एउटा चम्किलो नाम हो, कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर-४, बैतडाका गायक आशिष चन्द (असीम)। सुमधुर आवाजका धनी असीम पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा उदाउँदै गरेका गायक हुन्। सानैदेखि सङ्गीतमा अपार रुचि राख्ने २२ वर्षिय असीम हालै नेपालकै चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल’ सिजन -१’ को टप १२ सम्म पुग्न सफल भएका छन्। यसअघि पनि उनी ‘द भ्वाइस नेपाल’ मा सहभागी भइसकेका थिए, जहाँ उनले निर्णायक तथा दर्शकहरूको राम्रो प्रतिक्रिया पाएका थिए। असीमलाई सङ्गीतमा रुचि बाल्यकालदेखि नै थियो। उनी भन्छन्, “म कक्षा ४ मा थिएँ, त्यो बेला पहिलो पटक कक्षामा गीत गाएँ। सबैले राम्रो प्रतिक्रिया दिए। त्यसपछि मैले गायनलाई गम्भीर रूपमा लिन थालेँ।” यही प्रेरणाले उनलाई निरन्तर गायन यात्रा अघि बढाउने हौसला प्रदान गर्यो।

विद्यालयमा हुने विभिन्न कार्यक्रमहरूमा उनले गीत गाएर सबैको मन जिते। स्थानीय स्तरमा आयोजित साङ्गीतिक प्रतियोगिताहरूमा भाग लिएर उनले आफ्नो प्रतिभा निखार्दै गए। पारिवारिक साथसाथै साथीभाइ र शुभचिन्तकहरूको हौसलाले उनलाई अझै बढी मेहनत गर्न प्रेरित गर्यो। असिमको ‘सिङ्गिङ स्टार नेपाल’ सिजन-१ मा यात्रा निकै प्रेरणादायी रह्यो। पहिलो अडिसनमै उनले निर्णायकहरूको मन जिते। सशक्त प्रस्तुति र सुमधुर आवाजका कारण उनी प्रतियोगिताको टप १२ सम्म आइपुग्न सफल भए। यस प्रतियोगिताले उनलाई देशभर चिनायो। यसअघि ‘द भ्वाइस नेपाल’ मा समेत सहभागी भएर आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका असीमलाई दर्शकहरूले अझै बढी चिनेका छन्। असीमले हालसम्म थुप्रै गीतहरू गाइसकेका छन्, जसले दर्शक-श्रोताहरूको मन जित्न सफल भएका छन्।

उनको स्वरमा मिठास छ, जसले हरेक गीतलाई विशेष बनाउँछ। उनी नेपाली साङ्गीतिक यात्रालाई अझै अगाडि बढाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राख्छन्। आफ्नो भविष्यबारे असीम भन्छन्, “सङ्गीत मेरो आत्मा हो। नेपाली सङ्गीतलाई विश्वभर चिनाउने मेरो सपना छ। त्यसका लागि म निरन्तर अभ्यास र मेहनत गरिरहेको छु।” उनले नयाँ पुस्ताका सङ्गीत प्रेमीहरूलाई पनि मेहनत र समर्पण गर्न प्रेरित गरिरहेका छन्। कञ्चनपुरबाट राष्ट्रिय स्तरसम्म आफ्नो प्रतिभा देखाउन सफल भएका असीम चन्द भविष्यमा अझै उच्च स्थानमा पुग्ने अपेक्षा गरिएको छ। उनको सफलता सुदूरपश्चिम प्रदेशका अन्य युवा कलाकारहरूका लागि समेत निकै प्रेरणादायी रहेको छ।

