बेलौरीमा परालमा आगलागी : आठजना नियन्त्रणमा

महेन्द्रनगर : कन्चनपुरमा परालमा आगलागी पछि भएको कुटपिटको घटनामा प्रहरीले आठजनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बेलौरी नगरपालिका–२ स्थित एक स्थानियको परालको कुन्युमा गत माघ २५ गते आगलागी भएको थियो ।
आगलागी पछि स्थानीयहरुले आगजनी गर्नेको खोजी गर्न थाले । सोही क्रममा भाग्दै गरेकी एक महिलालाई आगो लगाएको निहुँमा उनिहरुले निर्घात कुटपिट गरे ।

विनापुरकी वर्ष ३२ की कविता स्वाँरलाई स्थानीयहरुले आगो लगाएको निहुँमा हदै सम्म कुटपिट गरेका छन् । कुटपिटबाट घाइते स्वाँरको टाउको, छाती र खुट्टामा चोट लागेको छ । उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा नियमित उपचार भइरहेको छ । वडा नम्बर –२ दिनापुरको रानीपुर टोलमा विगत तीन महिनादेखि स्थानीयको परालमा आगलागी हुदै आएको वडा अध्यक्ष कलबिर चौधरी बताउँछन् ।

तीन महिनाको अवधिमा आठ जना स्थानीयको परालमा आगो लागेको वडा अध्यक्ष चौधरीले बताए । तीन महिना यता स्थानिय अमृता राना मगर, सुशिला चाधरी, बाबुराम रिजाल, मानबहादुर चौधरी, गम्बर सिंह सुनार, काली प्रसाद चौधरी, धनलक्ष्मी जिसी लगायतका स्थानियको परालको कुन्युमा आगलागी भएको गुनासो गरिएको छ ।

वडा अध्यक्ष चौधरीले आगलागी आफै नभएको देखिएको र यो जानाजान पुर्वाग्रही ढंगले आगो लगाइएको बताए ।उनले भने,–‘तीन महिना यता आगलागी हुँदै आएको छ, प्रहरीमा जानकारी पनि गराएका छौँ, प्रहरीले खोजी गर्दै आएपनी आगो लगाउने लाई नियन्त्रणमा लिन सकेको छैन ।’ सोही क्रममा आगलागी गर्नेको खोजी गर्दै आएका आक्रोशित स्थानीयहरुले ती महिला माथि नै कुटपिट गरेको वडा अध्यक्ष ले बताए । प्रहरीले स्वारको कुटपिटमा संलग्न आठ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रहरीले उनीहरुको परिचय भने खुलाएको छैन ।

ताजा समाचार