महेन्द्रनगर : गजलकार सिर्जन श्रीको गजल संग्रह घाउमाथिका चुम्बन तथा कवि खिमानन्द वडूको डोट्याली भाषाको कविता सङ्ग्रहको समिक्षात्मक कार्यक्रम गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्रामको प्रमुख आतिथ्य तथा असीम केदार सास्कृतिक केन्द्रका अध्यक्ष भानदेव वडूको अध्यक्षतामा सम्पन्न भयेको छ।

भीनपा ५बनगाउमा रहेको सास्कृतिक केन्द्रको सभाकक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार प्रेम प्रकाश कलौनी तथा स्वागत कविराज भट्टले गरेका थिए। काव्यकृतिहरूमा साहित्यकार जगदीश ओझा, पञ्चमराज भट्ट, कविराज भट्ट तथा रमेश पन्त मीतबन्धुले समिक्षात्मक टिप्पणी तथा पाठकीय दृष्टिकोण अभिव्यक्त गरेका थिए।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी, डा टेकराज पन्त, डा मोहन प्रसाद पन्त, डा कृष्ण दत्त जोशी बोक्सर ,प्रा भोजराज जोशी, नारा जोशी, कृष्ण दत्त चटौत कान्त , चन्द्रदेवपाण्डेय,नारायण लम्साल ,कल्यान ओझा ,नारायण गिरी भीनपा ५का वडा सदस्य बिनोद प्रसाद भट्ट तथा पत्रकार महादेव अवस्थी लगायतको विशिष्ट उपस्थित रहेको कार्यक्रममा डा बलबहादुर महता रचित ३वटा कृतिहरूको समेत लोकार्पण गरिएको थियो ।

सोही अवसरमा आयोजित रचना वाचन कार्यक्रममा बविता कार्की, सानु जोशी, सतिष चुनारा , साक्षी खतिवडा, सन्दिप समर्पण, स्मृति पाल , मञ्जु गिरी तथा कार्यक्रमका अतिथिहरूले शुभकामना ,वधाइ संगै रचना वाचन गरेका थिए। कार्यक्रममा विवेच्य कृतिका सर्जकद्वय खिमानन्द बडू तथा सिर्जन श्रीले लेखकीय मन्तव्य संगै सहभागी तथा सहयोगी हरूलाई धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा आफ्नो शुभकामना मन्तब्यमा भीनपा नगर प्रबक्ता एवम् भीनपा ५का बडा अध्यक्ष पदमराज अवस्थीले साहित्यिक सास्कृतिक आयोजनमा वडा तथा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरेका थिए भने अतिथि बक्ताहरूले साहित्यको श्रीवृद्धिमा सर्जकद्वय र तिनका कृतिले ठूलो योगदान पुर्याउने धारणा ब्यक्त गरेका थिए।
हालै प्रकाशित पुस्तकहरू २ फरक महत्वका रहेको कुरा समिक्षक जगदीश ओझाले बताउनु भयो। नेपाली भाषाका गजल लेखन तथा प्रगतिशील साहित्यिक फाँटमा निरन्तर सक्रिय सिर्जन श्रीको घाउ माथिका चुम्बन सङ्ग्रहमा १०८वटा गजल संग्रहित रहेका छन भने खिमानन्द बडूको कविता सङ्ग्रहमा ५५वटा डोट्याली भाषाका कविता रहेका छन। अत्यन्तै परिस्कृत गजल तथा डोट्याली भाषा ठेट शब्दहरूबाट संयोजित काव्यकृतिमा समाजका विबिध विषयवस्तु समाबेश गरिएका छन।
