दोधारा चाँदनी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

दोधारा । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि दोधारा चाँदनी नगरपालिका ले आर्थिक वर्ष २०८०/ ०८१को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । सोमबार नगरपालिकाको सभा हलमा नगरपालिकाको आयोजना र शुक्लाफाँटा मिडिया प्रालिको  सहजिकरणमा नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

यस्तै कार्यक्रमको प्रतिवेदन प्रस्तुतिकरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले गरेका थिए । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले नगरपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । सहभागीहरुले गुणस्तरिय स्वास्थ्य सेवा, शिक्षामा सुधार, र बाटो कालोपत्रे बनाउने आवश्यकता, कृषिमा अनुदान, मल बीउ उपलब्ध गराउनुपर्ने लगायतका महत्वपूर्ण सवालहरु उठाएका थिए। स्वास्थ्य सेवामा सुधार गर्दै गुणस्तरीय उपचार सेवा प्रदान गर्नुपर्ने, शिक्षामा सुधार गरेर गुणस्तरीय शिक्षा व्यवस्था गर्ने, र मुख्य सडकहरु कालोपत्रे बनाउने माग सहभागीहरुले गरेका थिए । सेवा प्रवाहका विषयमा उठेका प्रश्नहरुको जवाफ नगर प्रमुख किशोर कुमार लिम्बूले दिएका थिए । हरेक योजनाको बारेमा आम नगरबासिहरु लाई जानकारी दिने र जनमानसमा बाट आएका गुनासाहरु लाई सम्बोधन हुनेगरी आगामी वर्षको बजेट तर्जुमा गर्न सहज हुने उदेश्यले प्रत्येक वर्ष नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरिरहेको नगर प्रमुख लिम्बूले बताए ।

नगरपालिकाले गरेरहेका कामको पारदर्शी गर्नाले जनता सहज रुपमा जानकार रहने र भैरहेका विकासका काम बारे विश्वस्त हुने  हुँदा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो । नगर प्रमुख लिम्बूले नगरपालिकाको भावी कार्ययोजनामा समावेश गरेर सेवा र सुविधामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । यस्तो सुनुवाइ कार्यक्रमले जनताको आवाज सुनिने र उनीहरुको समस्याको समाधान गरिने विश्वास दिलाएको छ। सुनुवाइ कार्यक्रममा झण्डै १ सय जना स्थानियहरुको सहभागीता रहेको थियो । जसमा नगरपालिका उप प्रमुख गंगा जोशी , वडाध्यक्ष लगायत नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको पनि उपस्थिति थियो।

ताजा समाचार