पुनर्वासमा एस.पी.एल. एकेडेमीको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पुनर्वास: पुनर्वास नगरपालिका–५ स्थित एस.पी.एल. एकेडेमीको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय प्रांगणमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्मा रहनुभएको थियो भने विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख जीवनराज थापा रहनुभएको थियो। त्यस्तै, कार्यक्रममा बाल रूपान्तर स्कुलका सञ्चालक बालकृष्ण ढकाल, पुनर्वास पब्लिक स्कुलका सञ्चालक हेम थापा, जनता बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा तथा जनता बहुमुखी क्याम्पसका प्रमुख कर्णबहादुर बुढा अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षक, खेलप्रेमी, पत्रकार तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो कार्यक्रमको सभापतित्व गर्दै एस.पी.एल. एकेडेमीका सञ्चालक धनराज भट्टले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको बताउनुभएको थियो। साथै, विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थी प्रतिभा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य तथा प्रस्तुति रहेको थियो। विद्यार्थी भाइबिनाले विभिन्न जातजाति तथा भाषाका संस्कृतिहरू झल्काउने नृत्य तथा प्रस्तुति दिँदा उपस्थित दर्शकहरू रमाएका थिए।

त्यसैगरी, विद्यालयका विद्यार्थी भाइबहिनीहरूले हालको जल्दोबल्दो समस्या लागू औषध दुर्व्यसनबारे सचेतना जगाउने सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए। उक्त नाटकले समाजमा लागू औषधको असर तथा यसबाट बच्न आवश्यक उपायहरूको बारेमा प्रभावशाली सन्देश दिएको थियो।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा पुनर्वास नगरपालिकाभित्रका निजि तथा सामुदायिक विद्यालयका छात्रातर्फ १० टिम र छात्रतर्फ १६ टिमले सहभागिता जनाएका थिए। एसपिएल एकेडेमीका प्रिन्सिपल खगेन्द्र जोशीका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

प्रतियोगिताको छात्रतर्फ प्रथम स्थान पुनर्वास–२, मोतिबस्तीस्थित सरस्वती माध्यमिक विद्यालयले हासिल गरेको छ। विजेता टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्‍यो। द्वितीय स्थानमा एसपिएल एकेडेमी रहेको छ, जसले नगद ८ हजार रुपैयाँ प्राप्त गर्‍यो। त्यस्तै, सिद्धार्थ पब्लिक स्कूल तृतीय स्थानमा रहँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो। छात्रातर्फ गौरीशंकर माध्यमिक विद्यालय प्रथम, जनता माध्यमिक विद्यालय द्वितीय र युगज्योति एकेडेमी तृतीय स्थानमा रहेका छन्। विजयी टिमलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिएको थियो।

विद्यालयको कक्षा ९ की विद्यार्थी आरोसी रोकायले स्वागत मन्तव्य दिँदै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन कृष्णकुमार तामाङ थिङले गर्नुभएको थियो भने सहजीकरण शिक्षिका शान्ति माया तामाङले गर्नुभएको थियो।

ताजा समाचार