परशुराम नगरपालिकामा पहिलो सुदूरपश्चिम मेयर सम्मेलन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका लागि चुनौतीको सामना र अवसरको सदुपयोग गर्न साँझा संकल्प आवश्यक रहेकामा वक्ताहरुले जोड दिएका छन् । परशुराम नगरपालिकाको आयोजनामा सुरु भएको दुई दिने ‘पहिलो सुदूरपश्चिम मेयर सम्मेलन’ उद्धघाटनसत्रका वक्ताहरुले संघियताको मर्म अनुसार बढी भन्दा बढी लाभ लिने गरी सबै एकताबद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आवश्यकता धेरै तर स्रोत थोरै भएकाले सुदूरपश्चिमको विकासमा समस्या रहेको बताए । यसै कारण आवश्यकता अनुसार योजना प्राथमिकीकरण गरी लगानी गर्न सबै पालिका प्रमुखहरुलाई उनले आग्रह गरे । मन्त्री थापाले आगामी दिनमा प्रदेश सरकारले पनि प्राथमिकतामा आधारित योजनामा मात्रै लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले कुल राजस्वमा सुदूरपश्चिमको योगदान दुई प्रतिशत भन्दा कम रहेकाले निश्चित अवधिसम्म यस क्षेत्रलाई सहुलियत दिनुपर्नेमा जोड दिए ।

उनले राज्यले दिएको स्रोत स्थानीय तहले पनि सही ठाँउमा र सही ढङ्गले प्रयोग गर्न आग्रह गरे । सुदूरपश्चिम नगरपालिका संघका प्रदेश अध्यक्ष वीरेन्द्र भट्टले जनताको आशा स्थानीय तह संग रहे पनि स्रोत साधनको अभावमा त्यसलाई सम्बोधन गर्न समस्या रहेको बताए । उनले कम आम्दानी र भौगोलिक रुपमा चुनौती पूर्ण अवस्थामा रहेका तहलाई राज्यले विशेष सहयोग गरेर समानुपातिक विकासमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक) का कार्यकारी निर्देशक डा. के के श्रेष्ठ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा शिव अधिकारी, परशुरामका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्ट लगाएतले विकासका लागि कुनै एक पक्षको पहलले मात्रै नहुने भन्दै सबैको सामूहिक प्रयासबाट अगाडि बढ्नुपर्ने बताए । उनीहरुले पर्यटन (जल पर्यटन सहित), कृषि, औद्योगिक पूर्वाधार, दिगो विकासलाई दृष्टिगत गरी तीनै तहका सरकार र निजी क्षेत्रले योजनाबद्ध विकासका लागि सहकार्य जरुरी रहेको धारणा राखे । आयोजक नगरपालिकाका प्रमुख भरत बलायर जोशीले सुदूरपश्चिमका स्थानीय तहबीच समन्वय र सहकार्य मार्फत यहाँको समग्र विकासका लागि संघठित आवाज आवश्यक रहेको बताए ।

‘पहिलो सुदूरपश्चिम नगरपालिका मेयर फोरम–२०८१ यस क्षेत्रका प्रमुख सरोकारवाला, स्थानीय सरकारका नेतृत्वकर्ता, विज्ञहरु, प्रादेशिक र क्षेत्रीय सरकारी निकायहरुका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाँउमा ल्याउने लक्ष्यका साथ आयोजना हुदैछ’, नगरप्रमुख जोशीको भनाई छ, ‘यस फोरमले सुदूरपश्चिम क्षेत्रको बृहत् विकासका लागि सहयोग बढाउन विचार आदान प्रदान र दिगो रणनीति निर्माणका लागि मञ्च प्रदान गर्नेछ् ।

सुदूरपश्चिमको भविष्यका लागि स्थानीय तहहरु मिलेर काम गर्ने र योजना बनाउने यसको मुख्य लक्ष्य हो । यसबाट सोही अनुसार निचोड आउनेछ भन्ने विश्वास छ ।’

ताजा समाचार

spot_img