महेन्द्रनगर । सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणा सहित लालझाडीमा आयोजित चौथो कञ्चनपुर सम्मेलन–२०८१ सम्पन्न भएको छ । सेभ दि चिल्ड्रेन, एनएनएसडब्लुए र डीसीएको व्यवस्थापकीय तथा प्राविधिक साझेदारीमा लालझाडी नगरपालिकाले जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी आइतबार चौथो कञ्चनपुर सम्मेलन गरिएको छ ।
जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापन, उत्थानशील र दिगो विकास बारे विस्तृत छलफलसहित भावी योजना तर्जुमाका लागि सम्मेलनको आयोजना गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । उनका अनुसार सम्मेलनमा जलवायु परिवर्तनले ल्याएको सङ्कट तथा सृजित विपद्को जोखिम तथा रोकथामबारे छलफल भएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सबै स्थानीय तह, प्रदेश र सङ्घका जनप्रतिनिधि मिलेर जनस्तरमा काम गर्नुको विकल्प नरहेको बताए ।
सुदूरपश्चिममा बाढी, पहिरो, आगलागी, जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरण लगायतका विषयमा प्रदेश सरकार दीर्घकालीन योजना बनाउन केन्द्रित रहेको उनको भनाई छ । प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा (पातल) तथा स्थानीय तहका जनप्रतिनिधिले विपद्को समयमा होस् वा अन्य विकासका काम गर्दा, सबै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए ।
लालझाडीमा तीन महिनादेखि जङ्गली हात्तीले गरिरहेको क्षतिको विषय, बेलडाँडीमा बाढीको समयमा नहर भत्किँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित हुनुपरेको विषय, २३ वर्षदेखि आरक्षपीडितहरूले खोलानाला तथा बन जङ्गल किनारमा पीडादायी जीवन जिउनु परेको विषय र विपद्पछि राहत र पुनः स्थापनामा देखिएका चुनौती जस्ता विषयले पनि सम्मेलनमा प्राथमिकता पाएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए ।
२०७८ सालमा भीमदत्त नगरपालिकाबाट सुरुवात गरिएको कञ्चनपुर सम्मेलन २०७९ मा पुनर्वास नगरपालिकामा, २०८० सालमा दोधाराचाँदनी नगरपालिकामा र यस वर्ष लालझाडी गाउँपालिकामा आयोजना गरिएको छ । अर्को वर्ष बेलौरी नगरपालिकामा पाँचौँ कञ्चनपुर सम्मेलन गर्ने गरी बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले जिम्मेवारी लिएका छन् ।