झलारी : ‘समावेशी तथा दीगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारा सहित शुक्लाफाँटा नगरपालिकामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टको प्रमुख आथित्यमा दिवस मनाईएको हो । दिवस उद्घाटन गर्नु हुदै प्रमुख प्रशासकिय अधिकृत बिष्टले शिक्षा रोजगारमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुरयाउनका लागि सक्दो पहल गरिने बताउनु भयो ।
उहाँले आगामी वर्षका लागि योजना तर्जुमा गर्दा अपाङ्गता भएका व्यक्तिहरुका प्रतिनिधिहरु संग बसेर गहन छलफल गरी के कस्तो सहयोग तथा कार्यक्रम आवश्यक पर्छ त्यसका लागि समन्वयात्मक भूमिका खेल्न तयार रहेको बताउनु भयो ।
ठोस रुपमा योजना ल्याईए कार्ययोजना बनाउनका लागि कार्यपालिकामा प्रस्ताव पेश गर्न सकारात्मक रुपमा भूमिका खेल्ने उहाँको भनाई थियो । अपाङ्ग एकता समाज कञ्चनपुरका अध्यक्ष हरिदत्त भट्टले अपाङ्गता भएका व्यक्तिहरुका लागि नगरपालिकाले योजना तथा कार्यक्रम नराखेको प्रति असन्तुष्टि व्यक्त गर्नु भयो ।
उहाँले शिक्षा, रोजगार र स्वास्थ्यमा राज्यले दिएको अधिकार नगरपालिकाले नदिएको बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरु माथि विभेद गरिएको छ उहाँले भन्नुभयो, कर्मचारी पदपूर्ति गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशीताको आधारमा राखिनु पर्नेमा राखिएको छैन, यसमा हाम्रो आपत्ति छ । नगरपालिकाबाट गत वर्ष प्रदान गरिएका ह्विलचेयर ट्राईसाईकल एक वर्ष नपुग्दै विग्रीएको उहाँले बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुका हक अधिकार नगरपालिको सुनिश्चित नगरे आन्दोलनमा जानु बाहेक अर्को विकल्प नरहेको उहाँको भनाई थियो ।
दिपज्योती अपाङ्ग समाजका कृष्ण बहादुर भण्डारीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायक सामग्री संगै व्याट्रिबाट चल्ने खालका ट्राइसाईकल उपलव्ध गराउनका लागि माग गर्नु भयो । दिवसको औचित्य संगै सहभागीहरुलाई नगरपालिकाको बालबालिका तथा महिला विकास शाखाका प्रमुख कमल जोशीले स्वागत गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, गैरसरकारी संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शुरक्षाकर्मी,अपाङ्गता भएका व्यक्तिहरु, नगरपालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।