सुदूरपश्चिम प्रदेशको टोलीद्वारा बाग्मती प्रदेशका शारीरिक पुनरस्थापना केन्द्रहरुको अवलोकन

पप्पु गुरुङ्ग, दोधारा । सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनरस्थापना केन्द्रहरुको अवलोकन गरेको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) शारीरिक पुनरस्थापना केन्द्र र ह्याण्डीक्याप इन्टरनेशलन/यूएसएआईडी फिजिकल रिहाबिलिटेशन एक्टिभिटी परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनरस्थापना केन्द्रहरुको अवलोकन भ्रमण गरेको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बाग्मती प्रदेशमा शारीरिक पुनरस्थापनाको क्षेत्रमा भईरहेका राम्रा प्रयासहरुलाई सुदूरपश्चिम प्रदेशमा पनि लागु गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश स्तरीय अवलोकन भ्रमणको आयोजना गरिएको बताउनुभयो ।

उहाँले बाग्मती प्रदेशको बनेपामा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनरस्थापना केन्द्र (एचआरडीसी) र साँगामा रहेको स्पाइनल इन्जुरी रिहाबिलिटेशन सेन्टर (एसआईआरसी) को अवलोकन भ्रमण गरिएको बताउनुभयो । अवलोकन भ्रमणमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधी, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी र दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरु, ह्याण्डीक्याप इन्टरनेशलनको टोली, एनएनएसडब्ल्यूएको टोली तथा कार्य समिति सदस्यहरु साथै सरोकारवाला निकायका प्रतिनिधीहरुको उपस्थिति रहेको बताउनुभयो ।

अवलोकन पछि गरिएको समीक्षामा उनिहरुले भ्रमणले शारीरिक पुनरस्थापनाको क्षेत्रमा धेरै कुरा सिक्न पाईएको बताएका छन् । बाग्मती प्रदेशका राम्रा प्रयासहरुलाई सुदूरपश्चिम प्रदेशमा पनि लागु गर्नुपर्ने बताउदै उनिहरुले पुनरस्थापनाको क्षेत्रमा सुधारका लागि आफुहरु तयार रहेको बताएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघले शारीरिक पुनरस्थापना केन्द्र परियोजना मार्फत सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ् ।

परियोजना अन्तर्गत स्थानीय पालिका संगको समन्यव तथा सहकार्यमा शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्रीको साथ साथै आवश्यक सेवाहरु प्रदान गर्दै आएको छ् ।

 

ताजा समाचार