कञ्चनपुर: कञ्चनपुरमा राष्ट्रिय कर दिवस मनाईने भएको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले १३औँ राष्ट्रिय कर दिवस मनाउने भएको हो । ‘कर प्रणालीको सार लगानीको आधार’ मुल नारा अघि सारेर १ मंसिरदेखि साताव्यापी रुपमा कर दिवस मनाउन लागेको जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत डमरु प्रशाद पराजुलीले विगतका बर्षझै यस बर्षपनि कञ्चनपुरमा कर साप्ताहिक बनाउने बताए । उनका अनुसार पहिलो दिन प्रभातफेरी गरिनेछ । त्यसपछिका दिनहरुमा महेन्द्रनगर, बेलौरी, झलारीमा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, हार्डबेयर व्यवसायी सहितका सरोकारसंग समन्वय गरेर कर सम्बन्धीत छलफल, अन्तरकृया गर्ने कार्यक्रम रहेको छ ।
७मंसिर समापनका दिन अन्तरकृया सहित उत्कृष्ट करदाता र कर्मचारीलाई पुरस्कार प्रदान गरिनेछ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले देशको पुँजि निर्माणमा करदाता व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएकाले व्यवसायीले तिरेको करले सदुपयोग सुनिश्चिता सहितको दिवस मनाउनुपर्ने तर्फ सरकारी पक्ष अग्रसरमा जोडदिए ।