भीमदत्त नगरले यसरी मनायो विश्व पर्यटन दिवस

महेन्द्रनगर : आज विश्वभर विश्व पर्यटन दिवस मनाइदैँ छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि होटेल व्यवसायी संघ कञ्चनपुर, उद्योग वाणिज्य संघ कञ्चनपुर, नेचर गाईड एशोसियसन शुक्लाफाँटाको सहयोगमा विविध कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाएको छ । नगरपालिको वडा नम्बर ०४ स्थित सिद्धनाथ मन्दिर परिसरमा सरसफाई गर्नुपर्छ भन्ने संदेश दिन सरसफाई गरेको छ ।

यस्तै पश्चिमी सीमानाका गड्डाचौकी स्थित अध्यागमन कार्यालय पुगेका पहिलो पर्यटकलाई स्वागत सम्मान सहित हात्ती सफारी गराएको हो ।नगरपालिकाले फ्रान्सेली नागरिक(पर्यटक) डा. सब्रिना डिजेलालीलाई खादा, माला र राष्ट्रिय ढाका टोपी लगाइदिएर स्वागत गरेको छ । पर्यटनले हामीलाई जोड्ने काम गर्छ भन्दै देश विकासका लागि पर्यटन विकास आवश्यक रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए ।

‘हामीले आज एक दिन पर्यटकहरुसंग राम्रो व्यवहार गरेर मात्र हुदैँन । पर्यटकहरुलाई हामीले सधै सम्मान गर्न सक्नुपर्छ ।’ नगरप्रमुख बोगटीले भने ‘देश विकासका लागि पर्यटन विकास गर्नु आवश्यक छ । त्यसका लागि हामीले आ–आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ ।’

ताजा समाचार