दोधारा । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा बाढीग्रस्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा बेलडाँडी गाँउपालिकाको समन्वयमा शैक्षिक सिकाई निरन्तरताका लागी गाँउपालिकाका १४ वटा बाढी ग्रस्त सामुदायिक विद्यालयका झण्डै १३ सय विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बेलडाँडी गाँउपालिकामा रहेको १४ वडा बाढी ग्रस्त सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यन गर्ने झण्डै १३ सय विद्यार्थीलाई कापी, कलम, पोशाक, शैक्षिक सामग्री, खेलकुद सामग्री साथै शिक्षकहरुलाई अध्यापन सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले करिब ३२ लाख ६३ हजार बराबरको सामग्री सहयोग गरिएको बताउनुभयो । संस्थाले विपद् व्यवस्थापन तथा मानविय सहायताका लागि काम गर्दै आएको बताउनुभयो ।

उहाँले यस अघि पनि संस्थाले सेभ द चिल्ड्रेनको सहयोगमा दोधारा चाँदनी नगरपालिकामा २२ विद्यालयहरुलाई शिक्षक अध्यापन सामग्री र बाल विकास कक्षा संचालनका लागि अध्यापन सामग्री साथै बाढी ग्रस्त क्षेत्रमा बसोवास गर्ने १५ विद्यालयका झण्डै १७ सय विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री वितरण गरिएको बताउनुभयो । बेलडाँडी गाँउपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले गत असार २२ गते देखि २४ भएको वर्षा पछि आएको बाढीले विद्यार्थीहरुको कापी, किताब लगायत शैक्षिक सामग्री बगाएको, भिजेकोले पठन–पाठनमा अवरोध भएको बताउनुभयो । उहाँले एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेनले बालबालिकाहरुको शैक्षिक निरन्तरताको लागि शैक्षिक सामग्री सहयोग गरेकोमा दुवै संस्थालाई धन्यवाद दिनुभयो ।

उहाँले यस अघि पनि एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रियले ६ सय ३९ बाढी प्रभावित परिवारलाई छोटो समयमा नै राहत वितरण कार्य गरि सहयोग गरेको बताउनुभयो । उहाँले गाँउपालिकामा एनएनएसडब्ल्यूएले विपद् व्यवस्थापन लगायत अन्य विभिन्न क्षेत्रहरुमा काम गर्दै आएको र आगामी दिनहरुमा पनि साथ सहयोगको लागि अपेक्षा गर्नुभयो । बाढी आएको बेला घरमा रहेको कापी, किताब, पोशाक बगाएर पढाई अवरुद्ध भएको अवस्थामा संस्थाले गरेको सहयोग पछि आफ्नो पठन–पाठन पुन: सुचारु गर्न सकिने भन्दै विद्यार्थीहरुले निकै खुशी महसुस भएको बताएका छन् ।

कञ्चनपुरमा गत असार महिनामा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा पछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडााडी गाँउपालिका र लालझाडी गाँउपालिकामा ठुलो बाढी आएको थियो ।
साथै बाढीका कारण हजारौं परिवार विस्तापित भएका थिए । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी प्रभावित परिवारलाई खाद्यान्न, गैर खाद्य सामग्री, बहुप्रयोजनका लागि नगद साथै प्रभावित विद्यार्थीहरुलाई अध्ययन अध्यापन सामग्रीहरु सहयोग गर्दै आएको छ् ।






