कञ्चनपुर : लगातार चारदिनदेखि कञ्चनपुरमा परेको भिषण बर्षाले जिल्लाभरी तहसनहस बनाईरहेका बेला सरदमुकाम नजिकैको एक गाँउमा समेत वितण्डा मच्चाएको छ । वाढीले बेदकोट नगरपालिका ९ सुन्दरपुर गाँउको आर्दश टोलमा उच्च कटानी गरेको छ । चुरे भएर बग्ने कनकट्टी खोला गाँउमा उल्टिएपछि स्थानीय किसानका खेतबारी कटानीदेखि घर भत्काईदिएको छ । सुन्दरपुर आर्दश टोलका स्थानीय दल बहादुर कुँवरले कनकट्टी खोलाको सतह बृद्धि भएर गाँउमा पसेको बताए । ‘चुरेबाट भीमदत्त भएर हाम्रो सुन्दरपुर गाँउ हुँदै चौधर नदीमा मिसिने कनकट्टी खोला आर्दश टोलबाट गाँउतिर उर्लियो, ‘उनले भने, ‘गाँउ पसेको खोलाले खेतबारी, कच्ची र पक्की सडक, घर सहितका सरचना तहसनहस गरिदियो ।’ कुँवरले आइतबार राती १२बजेतिर आफ्नो टोलमा रहेका तीन चार घरका स्थानीय सहित बस्तुभाउ राती नै सुरक्षित स्थानमा लगेको बताए । ‘खोला गाँउपसेपछि कटानी भएको थिएन, ‘उनले भने, ‘कम्मर भन्दा माथि नै पानी थियो, जब पानी घट्दै गयो, तब कटानी हुँदै गयो ।’

कुँवरले खोला गाँउ पसेपछि सडक खेतबारी भत्काएर आफ्नो सहित ४/५ परिवार सडक पहुँचबाट सम्बन्ध विच्छेद भएको बताए । वाढीले पुष्कर सिह नायकको पक्की घर उच्च जोखिममा पारिदिएको छ । घरको तीनतिरबाट कटानी गरेको छ । दोस्रो वाढी आए घरै भत्किने जोखिममा छ । नायक सहित कलावती धामी, दानसिह धामी, दल बहादुर कुँवर, उद्धव सिह ऐरी, अम्मर कुँवर, धन बहादुर सहितको घरखेत उच्च जोखिममा परेका छन । आर्दश टोलकी अर्की स्थानीय कलावती धामीले सोच्दै नसोचेको खोला गाँउमा उल्टिएको बताईन । ‘हामीले यो खोला यसरी गाँउ पस्ला भन्ने कल्पना समेत गरेका थिएनौँ, ‘उनले भनिन, ‘वाढीले अब खेत कटानी गर्दै घरै जोखिमा पारिदिएको छ, अब उठिबासी हुने चिन्ता छ ।’ पीडितहरुले जमिन कटानी, पटानी भएका क्षेत्रको पुर्नर्निमाणमा जोडदिएका छन । बेदकोट नगरपालिका ९ का वडाध्यक्ष जनक विष्टले कनकट्टी खोलाले सुन्दरपुर गाँउमा पहिलो पटक ताण्डप मच्चाएको बताए । ‘आफ्नै लयमा बग्ने खोला एक्कासी गाँउपस्यो, ‘उनले भने, ‘गाँउ पसेको खोलाले कटानी गरेर फेरी खोलामै मिसियो ।’

वडाध्यक्ष विष्टका अनुसार खोला गाँउ पस्दा झण्डै २ विगाह क्षेत्रफल जमिन कटानी, उक्त जमिनमा भएको धानबाली पूर्ण नष्ट भएको बताए । १२ घरका पुर्ण क्षति, त्यही अनुपातमा गोठ, भान्साघर पनि भत्किएका छन । दर्जनौँ पक्की घर कटानीको जोखिममा रहेको बताए । भत्किएका सडक र उच्च जोखिममा रहेका घर सुरक्षित गर्नका लागि पालिकाबाट जेसिभी ल्याएर भरानको कार्य शुरु भएको बताए । वडाध्यक्ष विष्टले पुष्कर सिह नायकको घर नजिक भत्किएको जमिन र सडक पुर्ननिर्माण गर्दै घर सुुरक्षित पार्नका लागि तटबन्ध निर्माण शुरु गरिएको बताए । ‘हाम्रो वडाको सबैभन्दा बढि सुरन्दरपुरको आर्दश टोलमा क्षति भएको छ, ‘वडाध्यक्ष विष्टले भने, ‘सकेजति हामी पुर्ननिर्माणमा जुटेका छौँ, हाम्रै स्रोत साधनले होला जस्तो छैन, प्रदेश र संघीय सरकारले यसमा चासो चिन्ता व्यक्त गरेर नदी नियन्त्रणका साथै कटानी पटानी क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण गरिदिनुपर्छ ।’ वडाध्यक्ष विष्टका अनुसार उक्त कटानी भएको क्षेत्रमा बेदकोट नगर प्रमुख भोजराज बोहरा, प्रदेशका मन्त्री ओम विक्रम भाट(सरल) सहितका सरोकारवालाले स्थलगत अनुगमन गर्दै पुर्ननिर्माणमा आश्वासन दिएको बताए ।

