केशव थापा/ कञ्चनपुर : कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडीको सिमसार दलदलमा परिणत भएको जमिन पुर्नरुत्पादनका लागि ड्रेन्च निर्माण गरिएको छ । बेलडाँडी गाँउपालिका १ को सिमसार जमिन पुर्नरुत्पादनका लागि ड्रेन्च निर्माण गरिएको हो । झण्डै अढाई दशक अघि निर्माण भएको महाकाली सिँचाई नहरको पानी चुहिएर खेतीयोग्य जमिन सिमसारमा परिणत भएको थियो । खेत सिमसारमा परिणत भएपछि किसानले २५ बर्षदेखि अन्नबाली लगाउन पाएका थिएनन । बेलडाँडीको सिमसार जमिनमा पुर्नरुत्पादनका लागि महाकाली सिँचाई व्यवस्थापन कार्यालय, जल उपभोक्ता संघ केन्द्रीय एव द्वितिय समितिले सिमसार जमिनमा स्काभेटर लगाएर ड्रेन्च निर्माण गर्न लागिएको हो ।

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रिय समितिका अध्यक्ष भीम बहादुर थापाले बेलडाँडी बजारदेखि झिलमिला बस्ती हुँदै झर्नाखोलासम्म डेन निर्माण गरिएको बताए । उनका अनुसार पहिलो चरणमा २३ सय मिटर लामो ड्रेन निर्माण गरिने छ । ‘पहिलो चरणमा हामीले झर्नाखोलासम्म ड्रेन निर्माण गछौँ, ‘उनले भने, ‘बेलौरी नगरपालिका ९ रतनपुर हुँदै कमरीसम्मै निर्माण गर्ने योजना छ ।’ नहर चुहिएर बेलडाँडी गाँउपालिका १को मात्रै डेढ हजार विगाह खेतीयोग्य जमिन सिमसार र दलदलमा परिणत भएको छ । २५ बर्षदेखि खेतीपाती लगाउन छाडेका किसान अब खेत सुधार भएसंगै कृषितर्फ उन्मुख हुने भएका छन । महाकाली सिँचाई जल उपभोक्ता संघ द्वितिय चरणका अध्यक्ष गोपाल कुँवरले दलदल जमिनमा नाला निर्माण भएसगै जमिन खेतीपाती गर्न सहज हुने बताए । ‘खेतमा पानी जन्म नपाएपछि जमिनमा खनजोत गर्न सहज हुनेछ, ‘उनले भने, ‘खेत पुर्नरुत्पादनमा परिणत हुन्छ ।’ भएको जमिन सिमसारमा परिणत भएपछि स्थानीय किसान गुजारा चलाउन भारत पसेका छन ।

खेत सुधार भएपछि किसानहरुले स्वदेशमै कृषि उद्यम गर्ने बताएका छन । बेलडाँडीका स्थानीय किसान रमेश लुहारले खेतमा जमेको पानी निकासबाट खेत सुधार भएपछि नगदेबाली उखु सहितका धान खेती गर्न सकिने बताए । ‘अब यो जमिन दिर्घकालिन रुपमा सुधार गर्नुपर्छ, ‘उनले भने, ‘हजारौँ विगाह जमिन बषौँदेखि बाँझै रहदा हामीले गुजारा चलाउन भारत जानुपर्ने बाध्यता थियो ।अब स्वदेशमै उखु सहितका अन्नबाली लगाएर आत्मनिर्भर बन्छौँ ।’ यस अघि बेलडाँडीकै खैरिघाट, झिलमिला, बैवाह लगायतका क्षेत्रको जमिनमा पानीको निकास गरेपछि उक्त स्थानहरुमा अहिले किसानले खेती लगाईरहेका छन ।

