देउवाकै गाँउका वाढीपीडित बस्तीमा निर्माण भएका खानेपानी योजनाको भुक्तानी भएन

कञ्चनपुर: पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला गन्यापधुरा गाँउका वाढीपीडित गाँउबस्तीमा निर्माण सम्पन्न भएका खानेपानी योजनाको दुई बर्षदेखि भुक्तानी भएको छैन । दुई बर्ष अघि गन्यापधुरा गाँउपालिकामा निर्माण सम्पन्न भएका ४६ खानेपानीका योजनाको झण्डै ९४ लाख रकम अझै भुक्तानी भएको छैन । ०७८ साल कार्तिकमा गएको वाढीले डडेल्धुराको गन्यापधुरा गाँउपालिकामा खानेपानी अवरुद्ध भएको थियो । उतिबेला प्रधानमन्त्री देउवा नै थिए । देउवाले वाढीबाट भएको खानेपानीको क्षतिको स्थलगत अनुगमन गरेका थिए । गाँउमा खानेपानी पुर्ननिर्माण गर्नुपर्ने देखिएपछि गाँउपालिकाले पहिलो चरणमा ४६ र दोस्रो चरणमा २२ खानेपानीका योजना माग गरेको थियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुर मार्फत ४६ योजना संचालन भएका थिए ।

खानेपानीका ४६ योजना निर्मांण सम्पन्न भएपनि दुई बर्षदेखि उपभोक्ता समितिहरुले भुक्तानी पाएका छैनन । बर्ष ०७८/०७९ मै सम्पन्न भएका खानेपानी योजनाको चालु आर्थिक बर्ष ०८०/०८१ को चैत्र तेस्रो साता वितिसक्दा पनि भुक्तानी नपाएपछि उपभोक्ताहरु आन्दोलित भएका छन । भुक्तानी नपाएपछि उनीहरुले आन्दोलनका लागि असिग्राम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तेकराज अवस्थीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन । गरेको कामको भुक्तानीका लागि संघीय खानेपानीपीडित संघर्ष समिति गठन गरेर मंगलबार खानेपानी कार्यालयमा डेलिगेशन दिएका छन । संघीय खानेपानीपीडित संघर्ष समितिका अध्यक्ष टेकराज अवस्थीले गाँउपालिकाभरी ४६ खानेपानी योजनाको काम सम्पन्न गरेको दुई बर्ष भन्दा बढि वितिसक्दा पनि भुक्तानी नपाएको बताए । ‘हामीले सबै योजनाको काम सम्पन्न गरिसक्दा पनि कार्यालयले अझै भुक्तानी गरेको छैन, सोधपुछ गर्दा माथिबाट बजेट नआएको भन्दै टार्दै आएका छन, ‘उनले भने, ‘पटक पटक ताकेता गर्दा समेत भुक्तानी नपाएपछि बाध्य भएर संघर्ष समिति निर्माण गरेर आन्दोलनमा उत्रिएका हौँ, अब हाम्रो संघर्ष रोकिदैन ।

’उतिबेला आफुहरुलाई संघीय खानेपानी कार्यालय महेन्द्रनगरबाट ०७८ पुषदेखि ०७९ जेठभित्रै काम सम्पन्न गर्न दवाव आएको र तोकिएकै समयमा काम सम्पन्न गरेपनि भुक्तानी नपाएको बताए । ‘कार्यालय आफैले कोटेशनबाट गराएको कामको भुक्तानी भने दिएको छ, पाईप, जिआई, पोलिथिन पाईप सहितका कामको ठेकेदारलाई भुक्तानी गरिदियो, ‘उनले भने, ‘हामी उपभोक्ता मार्फत गरेको काम माफतको रकम दिएन ।’ खानेपानी योजना सम्पन्न गर्नका लागि स्थानीय मजदुरदेखि निर्माण समाग्रीको भुक्तानी गर्न बाँकी रहेको उनले बताए । ‘हामीलाई मजदुर र निर्माण समाग्रीका साहुहरुले समेत सताएका छन, ‘उनले भने, ‘भुक्तानी नपाएपछि हामीलाई गाँउमा बस्नै वातावरण छैन, जता गयो, त्यतै पैशा खाएको आरोप लगाउँछन, तर हामीले भुक्तानी पाएका छैनौँ ।’ अर्का खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर कार्कीले कार्यालयबाट सम्झौता गरेर जेठमै पैशा आउने भन्दै आफुहरुले सम्झौता अनुरुप तोकिएकै समयमा काम सम्पन्न गरेपनि अझैसम्म पनि रकम नपाएको दुखेसो पोखे । ‘मजदुर र निर्माण समाग्रीको लाखौँ रकम तिर्न नपाएर हामी विचल्लीमा परेका छौँ, ‘उनले भने, ‘हरेक खानेपानी योजना १ लाखदेखि २१ लाखसम्ममा छन कसैको पनि भुक्तानी भएको छैन, गरेको कामको पनि भुक्तानी नहुँदा हामी झन समस्यामा परिरेका छौँ ।’

उनले पहिलो बर्ष भुक्तानीका लागि कुर्दा समेत दोस्रो बर्ष समेत जान लागेको र तेस्रो आउन लागेकै अवस्थामा थप समस्यामा परेको बताए । पाँच÷पाँच पटक देशकै प्रधानमन्त्री भएको वडा, गाँउ, जिल्लाका स्थानीय भएको र गरेकोे कामको पनि भुक्तानीका लागि सरकारी कार्यालयबाट अन्यायमा पर्दै आएको उनीहरुको दुखेसो छ । गन्यापधुरा गाँउपालिका १ का वडाध्यक्ष नरेश भण्डारीले काम गरेको भुक्तानी नपाएपछि वडा, पालिकामा समेत खानेपानी उपभोक्ता समितिले गुनासो पोख्दै आएको बताए । वडाध्यक्ष भण्डारीले जनप्रतिनिधीका तर्फबाट उपभोक्ता समितिको पिरमर्कामा साथ सर्मथन गर्दै पहल गरिरहेको बताए । गन्यापधुरा गाँउपालिका तत्तकालिन अध्यक्ष नवल मल्लले ०७८ सालमा वाढी आएका बेला जिल्ला नै वाढी प्रभावित घोषणा गरिएको बताए । गन्यापधुरा गाँउपालिकामा ७ करोडका खानेपानीको माग गरिएको बताए । उतिबेला प्रधानमन्त्री शेर बहादुर देउवा सहित अन्य मन्त्रीहरुले समेत खानेपानीको स्थलगन अनुगमन गरेको बताउँदै उनले अहिले आएर निर्माण सम्पन्न भएका खानेपानीका योजनाको भुक्तानी नपाएको बताए । ‘हामीले गाँउपालिकाबाट पनि संघीय खानेपानीलाई पटक पटक भुक्तानीका लागि ताकेता गर्दै आएका थियौँ, ‘उनले भने, ‘अहिले पनि जारी छ, तरपनि भुक्तानी हुँदैन के त अच्चमै भयो काम गरेको बर्ष भुक्तानी नपाएपनि अर्को बर्ष पाउनुपर्ने हो, तर यहाँ त तेस्रो बर्ष पुग्दा पनि भुक्तानी भएको छैन ।’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले माथिबाट बजेट नआएपछि गरेको कामको भुक्तानी दिन नसकिएको जनाएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय ईन्जिनियर सुचना अधिकारी पवन भट्टले वाढीबाट प्रभावित गन्यापधुरामा खानेपानीका ४६ योजना सम्पन्न भए अनुरुप कार्यालयले भुक्तानीका लागि विभागलाई पत्राचार गरेपनि विभागबाट अर्थमन्त्रालयले बजेट नदिएकाले भुक्तानी दिन नसकिएको जानकारीमा आएको बताए । भट्टले वाढीबाट प्रभावित गन्यापधुरामा खानेपानीका ४६ योजना सम्पन्न भए अनुरुप कार्यालयले भुक्तानीका लागि विभागलाई पत्राचार गरेपनि विभागबाट अर्थमन्त्रालयले बजेट नदिएकाले भुक्तानी दिन नसकिएको जानकारीमा आएको बताए । ‘खानेपानीका उपभोक्ताहरुले काम सम्पन्न गरेर भुक्तानीका लागि कार्यालयमा फाईल बुझाएको अन्तिम दिन २५ असारमा बजेट आएको त्यो बजेट खर्च गर्न नसक्दा फ्रिज भएको हो, ‘उनले भने, ‘अर्को बर्ष बजेट नै पठाईएन, चालुमा पनि छैन, हामीले माथि माग गर्दै आएपनि कुनै सुनुवाई भएको छैन ।’ सुचना अधिकारी भट्टले जिआई सहितका पाईप, ट्याङकी कार्यालयबाट कोटेशन मार्फत अधिल्लो बर्ष नै खरिद गरिएको बताए । शुरुमा काम गराउँदै अर्थले खानेपानीलाई सहमती दिएको तर पछि बजेट नदिदा भुक्तानी दिन नसकिएको बताए । उपभोक्ता समितिले गरेको कामको भुक्तानीका लागि कार्यालयबाट ताकेता गर्दै आएको बताए ।

ताजा समाचार