कृषिमा पम्परात रुपमा प्रयोग हुदै आएका सामान हराउदै

राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर :  परम्परागत रुपमा कृषि कार्यमा प्रयोग हुदै आएका औजारहरु हराउदै जान थालेका छन । कृषिको उत्पादकत्व बढाउनका लागि आधुनिक यन्त्र र मेसिनको प्रयोगले बढावा पाउन थालेपछि परम्परागत कृषिमा प्रयोग हुने सामान हराउदै जान थालेका हुन । खेत जोत्नका लागि पावर टिलर, ट्रयाक्टरको प्रयोग, चुटनका लागि थ्रेसरको प्रयोग हुन थालेपछि किसानले गोरु, राँगा लगायत पाल्नै छाडन थालेका छन । “परापूर्वकाल देखि गोरु र राँगाबाटनै खेत जोत्ने कार्य हुदै आएको थियो” शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ६७ वर्षीय गिरिराज डगौराले भन्नुभयो, “गोरु पाल्ने कार्यनै छाडेपछि पुराना कृषि कार्यका लागि प्रयुक्त हुने सामान हराउनेनै भए ।” गोरु, राँगा जोत्नका लागि हलो, जुवा, केलवाई, हेंगा महत्वपूर्ण सामान हराउदै जान थालेको उहाँले बताउनु भयो ।

हलो जुवामा अडकाउनका लागि प्रयोग हुने हलौडो (नाधा) जो त्यो छलाबाट बनेको हुन्थ्यो त्यो पाउनै छाडेपछि डोरीको प्रयोग हुन थालेको भगतराम लुहारले बताउनु भयो । “बारीमै लगाएको जुटबाट गोरु बाध्न डोरी बनाइन्थ्यो” उहाँले भन्नुभयो, “अहिले जुट लगाउन छाडेपछि बजारबाट प्लाष्टिका डोरीलाई प्रयोगमा ल्याउन थालिएको छ ।” “धान, गहुँ, मसुरो लगायतको बाली खेतबाट आँगनमा ल्याएर गोरुबाट दाँइ लगाउने कार्य हुन्थ्यो, त्यो पनि हटदै जान थालेको छ” बेलडाँडीका पर्शुराम डगौराले भन्नुभयो, “तोरी पेल्नका लागि अहिलेको जस्तो मिलहरु थिएनन्, काठको कोल्हु बनाएर घुमाउदै तोरी पेल्ने कार्य हुन्थ्यो, काठको कोल्हुमा तोरी पेल्ने चलनबाट दशक अघिदेखिनै हराएको छ ।” उहाँका अनुसार पहिला महिलाहरुले विहानै उठेर ओखल र ढिकीमा धान कुटने कार्य गर्दथे । पुरुषहरुले त्यही बेला खेतमा गोरु लगेर जोत्ने कार्यमा लागि सकेका हुन्थे । श्रम गर्ने बानी भएकै कारण महिला पुरुष शारिरिक रुपमा तन्दुरुस्त हुने गरेका थिए ।

अहिलेको जस्तो रोगव्याधिको समस्या थिएन । खेतमा उत्पादीत अन्नबाली काटेपछि गोरुको सहायताले गाडामा बोक्ने कार्य हुन्थ्यो । त्यस कार्यले अहिले जस्तो प्रदूषणको समस्या पनि थिएन । कृषिमा प्रयोग हुने पुराना सामानले कार्य गर्दा ढिलो हुने गरेको भएपनि अरुको मुख ताक्नु पर्ने अबस्था थिएन आफैंमा त्यस बेलाका किसान आत्मनिर्भर रहेको चौधरी बताउनु हुन्छ । उहाँ अगाडी भन्नुहुन्छ “अहिले डिजेट, पेट्रोल नपाईए खेत जोत्न पाईदैन, खेतमा काटेको अन्नबाली भित्राउन सकिदैन, खेतमा सिचाईका लागि पनि अरुकै मुख ताक्नु पर्छ ।” मेसिन र औजार विग्रीए पनि त्यतिकै समस्या हुने गरेको उहाँको भनाई रहेको छ । पहिला घरमै कृषि कार्यका लागि प्रयोग हुने सामान निर्माण गर्न र मर्मत गर्न सकिने भएकाले अहिलेको जस्तो झन्झट भने नरहेको पिपलाडीका राम बहादुर डगौराले बताउनु भयो ।

“अहिले कृषि औजा र यन्त्रका लागि पर निर्भर भएका छौं” उहाँले भन्नु भयो, “पुरानो कृषि पद्धतिमा किसान सबै कुरामा आत्मनिर्भर थिए ।” पुराना कृषि औजारलाई समय अनुकुल बनाई प्रयोगमा ल्याउनु पर्नेमा त्यो हुन नसक्दा ओझेलमा पर्दै गएको उहाँ बताउनु हुन्छ । “अहिले जस्तो रासायनिक मल र बिषादीको प्रयोग नभै कृषिमा पहिला घरकै गोवरमलको प्रयोगलाई मात्रै बढावा दिईने भएकाले उत्पादन भएको अन्न, तरकारी लगायत स्वास्थ्यवर्धक थिए” आशिष चौधरीले भन्नु भयो, “अहिले अन्नबाली, तरकारी र फलफुलमा बिषादीको प्रयोग हुने गरेको छ , त्यसले नसर्ने किसिमका गम्भीर रोगहरु निम्त्याउन थालेको छ ।” पुरानो कृषि पद्धतीलाई जोगाउनका लागि स्थानिय तहले अग्रसर हुनु पर्ने यस क्षेत्रका कृषि विज्ञहरु बताउनु हुन्छ ।

ताजा समाचार