राजेन्द्रप्रसाद पनेरु / झलारी : न्यायिक प्रकृयालाई छिटो छरितो, भरपर्दो, विश्वसनिय बनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले न्यायिक समितिका पदाधिकारी र सामुदायिक मेलमिलापकर्ताहरुको दक्षता अभिबृद्धि गर्ने कार्य अगाडी बढाएको छ । नगरपालिकाले न्यायिक समितिका पदाधिकारी र सामुदायिक मेलमिलापकर्ताहरुका लागि आइतवार देखि तीन दिने क्षमता विकास पुर्नताजगी तालिम सञ्चालन गरेको हो । न्यायिक समितिका पदाधिकारी, सामुदायिक मेलमिलापकर्ता र सरोकारवालाहरुका लागि तालिम सञ्चालन गरिएको छ । नेपालमा संघीय व्यवस्था र तहगत अधिकार, स्थानिय न्यायिक समिति र त्यसको अधिकार क्षेत्र, विवाद समाधानका सवालहरु, सामुदायिक मेलमिलाप प्रकृया विधि, न्यायिक प्रकृया बारे तालिमका सहभागीहरुलाई तालिमको अवधिमा जानकारी दिने कार्य गरिने तालिमका प्रशिक्षक स्थानिय शासन विज्ञ विशन देव जोशीले बताउनु भयो ।
“नेपालको संविधानको धारा २१७ मा भएको व्यवस्था अनुसार अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्नका लागि नगर उप प्रमुखको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिनै न्यायिक समिति हो” उहाँले भन्नु भयो, “स्थानिय तह सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिलाई ऐनको दफा ४७(१)(२) अन्तर्गतको विवाद निरुपण गर्न, विवादको मेलमिलापको माध्यमबाट मात्र विवाद समाधान गर्ने व्यवस्था भएकाले त्यसबारे जानकारी दिन्छौं ।” विवाद समाधान गर्ने सर्वोत्तम विधि भनेकै मेलमिलाप भएको उल्लेख गर्नु हुदै उहाँले मेलमिलाप पद्धती औपचारीक प्रकृयामा आधारित हुने हुदा छिटोछरितो, विश्वसनिय, भरपर्दो कसरी बनाउने बारे जानकारी दिने कार्य गरिने बताउनु भयो । यो संगै निवेदन, उजुरी, फिरादपत्र, म्याद सूचना,तामेल गर्ने, प्रतिउत्तर संगै निवेदन दर्ता, आदेश गर्ने, निर्णय गर्ने, फैसला गर्ने, मिलापत्र गर्ने लगायतका न्यायिक प्रकृया बारे सहभागीहरुलाई दक्ष बनाईने उहाँको भनाई रहेको छ ।
न्यायिक समितिले विवादको छिनोफानो गर्दा अपनाउने संक्षिप्त कार्यविधिका विविध पक्ष बारे स्पष्ट पारिने उहाँले उल्लेख गर्नु भयो । नगरपालिकाको न्यायिक समितिका संयोजक एवं नगर उप प्रमुख कल्पना पन्तले नगरपालिकाका १२ वटै वडामा सूचिकृत गरिएका मेलमिलापकर्ताहरुले न्यायिक ज्ञानको अभाव र मेलमिलाप गर्ने प्रकृया बारे यथेष्ट जानकारी नराख्दा समस्या आउने गरेकाले त्यसबारे दक्षता हासिल गर्नका लागि तालिम सञ्चालन गरिएको बताउनु भयो । यस कार्यले मेलमिलापकर्ताको क्षमता अभिबृद्धिभै न्यायिक समितिमा आउने विवादको समाधान गर्न सहज हुने उहाँले बताउनु भयो । उहाँका अनुसार न्यायिक समितिलाई झै झगडा, साँध सिमाना मिचेको, घरेलु हिंसा, आपसि लेनदेन, बालीनाली नोक्सान गरेको,जेष्ठ नागरिकको हेरचाह, पालनपोषण नगरेको लगायतका उजुरी मेलमिलापकर्ता मार्फत समाधान गर्ने गरिन्छ ।
“न्यायिक समितिमा आएका उजुरीहरुलाई मेलमिलापका लागि सम्बन्धीत वडाका सूचिकृत मेलमिलापकर्ताहरुलाई मेलमिलापका लागि पठाईने गरिएको छ” उहाँले भन्नु भयो, “केही उजुरीमा मेलमिलाप हुने गरेपनि व्यवहारीक र कानुनी ज्ञानको अभावमा केही उजुरीहरुमा मेलमिलाप हुन नसकि पुनः न्यायिक समितिमा पुग्ने गरेका छन, तालिममा न्यायिक क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुले प्रशिक्षण दिने भएकाले प्रशिक्षार्थीहरुले सिक्ने अबसर पाउछन ।” मेलमिलाप बारे प्रयोगात्मक रुपमै पनि प्रशिक्षकले मेलमिलापकर्ताहरुलाई पक्ष र विपक्षलाई संगै राखेर जित जितको भावनाले मेलमिलाप गराउने पक्ष बारे पनि जानकरी दिने उहाँको भनाई रहेको छ । नगरपालिकाको न्यायिक समितिमा आउने उजुरीको मेलमिलापका माध्यमबाट छिनोफानो गरिदै आएको छ । न्यायिक समितिका कर्मचारी सुरेन्द्र भट्टका अनुसार समितिमा आएका ९८ प्रतिशत विवादको मेलमिलापका माध्यमबाट किनारा गरिएको छ ।