तीन हजार चौपायालाई खोरेत विरुद्धको खोप

राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका तीन हजार घरपालुवा चौपायालाई खोरेत विरुद्धको खोप लगाईएको छ । खोरेत रोगको उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी अभियानका रुपमा खोप लगाउने कार्य गरिएको हो । अभियान अन्र्तगत गाई, गोरु र भैंसीमा खोप लगाउने कार्य गरिएको नगरपालिकाको पशुपन्छि विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताउनु भयो । “गत वर्ष खोरेत रोगको संक्रमण देखिएका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर खोप लगाउने कार्य शुरु गरेका छौं” शाखा प्रमुख भट्टले भन्नु भयो, “खोरेत रोग फैलिने संभावना भएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका वडालाई पनि प्राथमिकतामा राखेका छौं ।” उहाँका अनुसार गत वर्ष वडा नं ५, ७ र ११ मा खोरेत रोगको संक्रमण घरपालुवा चौपायामा देखा परेको थियो । जसबाट सय बढी पशु प्रभावित भएका थिए । तीन दिन अघि देखि सञ्चालन गरिएको खोप अभियान अन्र्तगत तीन हजार चौपायामा खोरेत विरुद्धको खोप लगाईएको उहाँले जानकारी दिनु भयो । नगरपालिकाका १२ वटै वडाका चार हजार पशुमा खोप लगाउने लक्ष्य राखिएको छ ।

नगरपालिकाले सूचिकृत गरेका छ जना खोपकर्ता मार्फत खोप लगाउने कार्य भैरहेको छ । खोप अभियान सञ्चालन गर्नका लागि संघीय सरकाले खोप उपलब्ध गराएको छ भने सुदूरपश्चिम प्रदेश सरकारले खोप लगाउने कार्यमा संलग्न खोपकर्तको भत्ता र खाजा खर्चको व्यवस्था गरेको छ । नगरपालिकाले खोप अभियानको अनुगमनको कार्य संगै खोप लगाउने क्षेत्र निर्धारण गर्ने जिम्मा लिएको छ । “खोरेत एक प्रकारको पशुहरूमा लाग्ने सरुवा रोग भएकाले यसको समयमै नियन्त्रण हुनु जरुरी रहेको छ”नगरपालिकाका पशु अधिकृत नारायण भट्टले भन्नु भयो, “चौपायाको ओहरदोहर हुनेमा बढी फैलिने बढी संभावना हुन्छ, निकुञ्ज क्षेत्रका जनावर संग सम्पर्क हुने घरपालुवा जनावर खोरेत रोगको उच्च जोखिममा रहने भएकाले ती क्षेत्रको पहिचान गरी खोप लगाउनका लागि प्राथमिकतमा राखिएको छ ।” खोप अभियानले निकुञ्जका जनावर पनि शुरक्षित हुने र घरपालुवा चौपाया पनि शुरक्षित हुने उहाँको भनाई रहेको छ ।

उहाँका अनुसार खोरेत रोग घरपालुवा गाई, भैंसी, बाख्रा, बंगुर, सुगुँर, बाख्रा, भेडा, लगायतमा लाग्ने गर्दछ । यो रोग लागेमा पशुहरूका खुर पाक्ने कार्य संगै ज्वरो आउने, घाँस नखाने जस्ता लक्षणहरू देखा पर्छन । यस रोगको बेलैमा ध्यान पुगाउन नसकेमा पशुको मृत्यु हुने, दुधालु चौपायाले दुध घटाउने, सन्तान उत्पादन घटने, साना बाच्छा, बाच्छी, पाडापाडीको मृत्यु हुने र रोग लागेमा गर्भिणी माउको गर्भ तुहिने लगायतका समस्या हुने गर्दछन । यो संगै खोरेतको संक्रमण भएका पशुले राम्ररी नखाने,मुख तथा गिजामा पानी पोका आउने र पछि फुटेर घाउ बन्ने,र्याल काढ्न, जिब्रोमा घाउ बन्न, झोक्राउने नउग्राउने, धेरै ज्वरो आउंछ ,खुरको कापमा घाउ हुने गर्दछ । खोरेत रोगको संक्रमण पशुमा अति सुक्षम ओए एशिया एन नामक बिषाणुका कारण हुने गर्दछ ।

ताजा समाचार