पुनर्वास: कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा तामाङ समुदाय ले सोनाम ल्होछार भब्य रुपमा मनाईएको छ। तामाङ समुदायको बाहुलियत रहेको पुनर्वास नगरपालिकामा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात नयाँ वर्ष शनिबार विविध कार्यक्रम गरेर उक्त समुदायले मनाएका छन् । नेपाल तामाङ्ग घेदुङ जिल्ला कार्य समिती कञ्चपुरको आयोजनामा पुनर्वास नगरपालिका वडा नं ३ स्थित आई बी आर डी बजार नजिकै रहेको ६५ बिगाहामा रहेको कालिका युवा क्लब को खेलमैदानमा सोनाम ल्होसार मनाइएको हो । ल्होछार शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउँदछन् । मञ्जु श्री पात्रो अनुसार शनिबार देखि २८६० औँ वर्ष सुरु भएको छ । शनिबार देखि खरायो वर्ष पूरा गरी डुक ल्हो अर्थात ( ड्रागन ) वर्ष सुरु भएको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको नेपाल तामाङ्ग घेदुङ सुदुरपश्चिम प्रदेश कार्य समितीका सहसचिब भिमलाल तामाङ्गले बताउनुभयो ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले तामाङ्ग जाती प्रकृति पूजक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथीको आसनबाट कञ्चनपुर क्षेत्र नंम्बर एकका प्रतिनिधी सभा सदस्य तारा लामा तामाङ्गले सोनाम ल्होसार तामाङ्ग जातीको मुख्य पर्ब भएपनी पछिल्लो समय सबैको साझा पर्ब बनेको बताउनुभयो । यसले आफ्नो समुदायमा मात्रै नभइ पुरै समाजमा नै भाइचाराको सम्बन्ध स्थापीत गरेको उहाँले बताउनुभयो । यो जाती बिशेष पर्ब मात्रै नभएर देशकै सानमान संग जोडीएकाले मौलीक संस्कृतीको संरक्षण तथा सम्बद्र्धन गर्न राज्यले चासो नदेखाएको उहाँले बताउनुभयो । त्यस्तै बिशिष्ट अतिथी पुर्व संविधान सभा सदस्य माननीय दिवान सिँह बिष्टले सोनाम ल्होसारको शुभकामना व्यक्त गर्नुहुँदै यसक्षेत्रमा बसोबास गर्ने हरेक समुदायको कला संस्कृति जर्गेनाका विषयमा आफु कटिबद्ध भई लाग्ने जानकारी दिनुभयो यस्तै तामाङ्ग जातिको बाहुल्यता रहेको पुनर्वासमा सोनाम ल्होसार विशेष रुपमा मनाउने गरीएको कञ्चनपुर क्षेत्र नंम्बर एक क का प्रदेस सभा सदस्य बिर बहादुर थापाले बताउनुभयो ।
भाषा संस्कार संस्कृति संरक्षण गर्नुपर्ने राज्यको दायित्व भएकाले आफ्नो तर्फबाट सकेको सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले यस्ता कार्यक्रमले तामाङ सामुदायमा आधारित मौलिक सांस्कृतिको विकासमा थप टेवा मिल्ने बताउनुभयो । पुनर्वास आफैमा ७७ जिल्लाकै मानिसहरु बसोबास भएको ठाउँ रहेको बताउदै उहाँले विभिन्न सामुदायका भाषा संस्कार संस्कृतिको संरक्षण गर्न सके पर्यटन प्रवद्धनमा टेवा पुग्ने बताउनुभयो । नेपाल तामाङ्ग घेदुङ जिल्ला कार्य समिती कञ्चपुरका अध्यक्ष भिम बहादुर तामाङको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा तामाङ्ग सामुदायका विभिन्न खालका नृत्य प्रस्तुत संगै राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा गायक राजु तामाङ्ग, गायिका तथा मोडल रितु तामाङ्ग वाईवाले सबैलाई नचाएका थिए। सोनाम ल्होछार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ ।